क्यान्सरविरुद्ध आशाको सन्देश फैलाउँदै चौथो ‘सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ साउन १६ गते
काठमाडौं। क्यान्सरलाई मृत्युदण्ड नभई रोकथाम, समयमै पहिचान र उपचार गर्न सकिने रोगका रूपमा स्थापित गर्ने उद्देश्यसहित चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो आगामी २०८३ साउन १६ गते (१ अगस्ट २०२६) आयोजना हुने भएको छ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स फर रेमेडिजको आयोजनामा हुने कार्यक्रम ललितपुरको म्याजेस्टिक ग्रान्ड, एकान्तकुनामा हुनेछ।
कार्यक्रममा क्यान्सरलाई सफलतापूर्वक पराजित गरेका सर्भाइभरहरू र्याम्पमा उत्रिएर आफ्नो संघर्ष, आत्मविश्वास र जीवनप्रतिको सकारात्मक सन्देश प्रस्तुत गर्नेछन्। आयोजकका अनुसार सर्भाइभरहरूको प्रत्येक पाइला क्यान्सर उपचार सम्भव छ र जीवनप्रति आशा कायम राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमकी परिकल्पनाकार तथा क्यान्सर अभियन्ता स्वरुपा श्रेष्ठले क्यान्सरप्रतिको समाजमा रहेको डर र भ्रम हटाउँदै आशा फैलाउनु नै र्याम्प शोको मुख्य उद्देश्य रहेको बताइन्। "क्यान्सर अन्त्य होइन, नयाँ जीवनको सुरुआत पनि हुन सक्छ। सर्भाइभरहरूको प्रत्येक पाइला आशा, साहस र आत्मविश्वासको सन्देश हो," उनले भनिन्।

उनले क्यान्सर जित्न सकिन्छ भन्ने विश्वास समाजमा स्थापित गर्न सबैलाई कार्यक्रममा सहभागी भई सर्भाइभरहरूको हौसला बढाइदिन पनि आग्रह गरेकी छन्। उनका अनुसार दर्शकको उपस्थिति मात्र पनि क्यान्सरसँग लडेर नयाँ जीवन सुरु गरेका सर्भाइभरहरूका लागि ठूलो आत्मबल बन्नेछ।


















प्रतिकृया दिनुहोस