• १२ श्रावण २०८३, मंगलबार

नारायणी अस्पताल घटनाको विरोधमा माइतीघरमा चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्तिपूर्ण प्रदर्शन

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसाको अन्त्य गर्दै सुरक्षित कार्यस्थल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले "बिरामीको पीडा बुझ्छौं, हिंसाको भाषा बुझ्दैनौँ", "सेवाको पुरस्कार हिंसा होइन, सम्मान हो", "स्वास्थ्यकर्मीको सम्मान गरौँ", "सुरक्षित कार्यस्थल सुनिश्चित गरौँ", "We Heal, You Don't Hurt Us" तथा "उपचार खोज्ने हात, प्रहार गर्ने हात किन बन्छ?" लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले स्वास्थ्य संस्थाभित्र हुने भौतिक आक्रमण, तोडफोड तथा धम्कीका घटनाले स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन, स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।

शनिबार नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। उक्त आक्रमणमा गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार गरिएको थियो। घटनापछि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित कार्यस्थलको माग गर्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस