ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य
काठमाडौं। नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यसहित ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको घोषणा गरेको छ।
यो सहकार्यको घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित ‘कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू’ विषयक निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रममा गरिएको हो।
ह्याम्स अस्पतालका अनुसार सहकार्यको मुख्य उद्देश्य जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीका लागि समन्वित रेफरल प्रणाली विकास गर्नु, उपचारअघि र उपचारपछिको निरन्तर तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु र अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवासँग बिरामीलाई प्रभावकारी रूपमा जोड्नु हो।
कार्यक्रममा नेपाल र भारतका कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, मिनिमल्ली इनभेसिभ सर्जरी, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीनतम अभ्यासबारे अनुभव र अनुसन्धान आदानप्रदान गरेका थिए।
ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष डा. रजनीश मल्होत्रा तथा थोरेसिक सर्जरी विभागका निर्देशक डा. शैवाल खण्डेलवालसहित सहभागी विशेषज्ञ चिकित्सकहरूको स्वागत गरेका थिए।
उनले नेपालमा आधुनिक स्वास्थ्य सेवा तथा विशेषगरी मुटुरोग र कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा योगदान पुर्याएका डा. भगवान कोइराला, डा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा र डा. ज्योतिन्द्र शर्मालगायत वरिष्ठ चिकित्सकहरूको योगदानको प्रशंसा गरेका थिए।
अध्यक्ष भण्डारीले म्याक्स हेल्थकेयरसँगको सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार उपचारपूर्व विशेषज्ञ परामर्शदेखि उपचार समन्वय र उपचारपछिको फलोअप सेवासम्मको संरचित प्रणाली विकास गरिनेछ।
सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीहरूले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपश्चात नेपालमै निरन्तर फलोअप सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ।
ह्याम्स अस्पतालले यसलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण उपलब्धि भन्दै गुणस्तरीय, सुरक्षित र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।


















प्रतिकृया दिनुहोस