• ४ भदौ २०८३, बिहीबार

लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने, ढल्केबरमा पनि आवश्यकता अनुसार सेवा विस्तार गर्ने मन्त्री मेहताको भनाइ

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन गर्ने बताएकी छन्।

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका (राउ) प्रादेशिक अस्पतालको अनुगमनका क्रममा उनले लहानमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी हुन्।

लहान पूर्व–पश्चिम राजमार्गमा पर्ने भएकाले यहाँ हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा सेवा आवश्यक रहेको मन्त्री मेहताले बताइन्। अस्पतालमा रक्तसञ्चार सेवा, सिटी स्क्यानलगायतका पूर्वाधार उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने उनको भनाइ छ।

मन्त्री मेहताले लहानमा मात्र नभई मधेश प्रदेशका अन्य क्षेत्रमा समेत आवश्यकता र सम्भाव्यताका आधारमा ट्रमा युनिट विस्तार गरिने बताइन्। “सहरी तथा ग्रामीण हरेक क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको योजना छ। मधेश प्रदेशको लहान र धनुषाको ढल्केबरमा मात्रै होइन, आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्रमा युनिट सञ्चालनमा आउनेछ,” उनले भनिन्।

पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन, भवन निर्माण तथा आवश्यक विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिटमार्फत सेवा सुरु गर्न लागिएको मन्त्री मेहताले बताइन्। उनले लहानमा अर्थोपेडिक सर्जन, एनेस्थेसियालगायत आवश्यक विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

सिटी स्क्यान सञ्चालनका लागि रेडियोलोजिस्ट तत्काल व्यवस्थापन

मन्त्री मेहताले राउ प्रादेशिक अस्पतालमा रहेको सिटी स्क्यान सेवा रेडियोलोजिस्टको अभावका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विषयमा समेत जानकारी लिइन्। उनले तत्काल रेडियोलोजिस्टको व्यवस्थापन गरी सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले बिरामीको चापअनुसार चिकित्सकको दरबन्दी आवश्यक रहेको तथा नयाँ भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण गराइन्। २०३९ सालमा निर्माण भएको अस्पतालको भवन चार दशकभन्दा पुरानो भइसकेकाले सम्भावित भूकम्पीय जोखिमका दृष्टिले समेत सावधानी अपनाउनुपर्ने इन्जिनियरहरूको सुझाव रहेको उनले जानकारी दिइन्।

बब्लु गुप्ताले उठाए ट्रमा सेन्टरको माग

अनुगमनका क्रममा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले लहानमा ट्रमा सेन्टर स्थापना गर्नुपर्ने माग राखे। लहान आसपासका जिल्लासहित करिब २० लाख जनताले स्वास्थ्य सेवा लिने प्रमुख केन्द्रका रूपमा लहान रहेको उल्लेख गर्दै उनले राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारका लागि ट्रमा सेवा अत्यावश्यक रहेको बताए।

गुप्ताले अस्पतालका नाममा एक बिघा १५ कट्टा १० धुर जग्गा दर्ता भइसकेको जानकारी दिँदै उपलब्ध जग्गामा ट्रमा सेन्टर स्थापना गर्न सकिने विषयमा मन्त्रीको ध्यानाकर्षण गराए। लहान भ्रमणका क्रममा गुप्ताले मन्त्री मेहतालाई स्थानीय स्वास्थ्य पूर्वाधार र ट्रमा सेवाको आवश्यकताबारे जानकारी गराएका थिए।

स्वास्थ्य बीमा बन्द नभएको मन्त्रीको स्पष्टीकरण

स्वास्थ्य बीमाका विषयमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम बन्द नगरिएको स्पष्ट पारिन्। उनका अनुसार तत्कालका लागि केही निजी अस्पतालमा बीमा सेवा रोकिए पनि सरकारी अस्पतालमा सेवा निरन्तर रहेको छ।

सरकारले फागुन महिनासम्म स्वास्थ्य बीमाबापत १८ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिँदै उनले बीमा कार्यक्रमका केही प्याकेज पुनरावलोकन गर्ने काम भइरहेको बताइन्।

आँखा अस्पताल र बाल तथा प्रसूति अस्पतालको पनि अनुगमन

मन्त्री मेहताले राउ प्रादेशिक अस्पतालसँगै सगरमाथा चौधरी आँखा अस्पतालको समेत अनुगमन गरेकी छन्। उनले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, उपकरण, पूर्वाधार तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिइन्।

मन्त्री मेहताले लहान नगरपालिका–३ मा अलपत्र अवस्थामा रहेको बाल अस्पताल तथा धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई बाल तथा प्रसूति अस्पतालको समेत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ।

मन्त्रीको लहान भ्रमणका क्रममा अस्पतालको सेवा विस्तार, जनशक्ति व्यवस्थापन, सिटी स्क्यान सञ्चालन तथा ट्रमा सेवासहित स्थानीय स्वास्थ्य पूर्वाधारका विषयमा छलफल भएको हो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस