• ४ भदौ २०८३, बिहीबार

श्रीलङ्कामा ३.१ किलोको मूत्राशयको पत्थरी निकालियो

काठमाडौं । श्रीलङ्काका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्राशयबाट ३.१ किलोग्राम तौलको विशाल पत्थरी शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकहरूले उपलब्ध अभिलेखका आधारमा शल्यक्रियामार्फत निकालिएको यो अहिलेसम्मकै ठूलो मूत्राशयको पत्थरी भएको दाबी गरेका छन्।

पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित अस्पतालमा गत साता शल्यक्रिया गरी उक्त पत्थरी निकालिएको हो। मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका ती बिरामीलाई उपचारका क्रममा पिसाब फेर्न कठिनाइ भएपछि परीक्षण गर्दा मूत्राशयमा ठूलो पत्थरी रहेको पत्ता लागेको थियो।

शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलहन बालकृष्णनका अनुसार निकालिएको पत्थरी करिब १७ सेन्टिमिटर लामो थियो। यसको तौल पूर्ण रूपमा विकसित नवजात शिशुको तौलजत्तिकै रहेको चिकित्सकहरूले बताएका छन्।

‘उपलब्ध अभिलेखअनुसार शल्यक्रियामार्फत निकालिएको र अभिलेखमा दर्ता भएको यो अहिलेसम्मकै ठूलो मूत्राशयको पत्थरी हो,’ डा. बालकृष्णनले बीबीसी सिंहलासँग भनेका छन्।

चिकित्सकका अनुसार बिरामीको मूत्राशयमा उक्त पत्थरी पाँचदेखि १० वर्षसम्म विकसित भएको हुन सक्ने अनुमान गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था राम्रो रहेको र अस्पतालमै राखेर अन्य स्वास्थ्य समस्याको उपचार भइरहेको बताइएको छ।

कसरी बन्छ मूत्राशयमा पत्थरी?

मूत्राशय पूर्ण रूपमा खाली हुन नसक्दा त्यहाँ लामो समयसम्म पिसाब जम्मा भएर गाढा बन्न सक्छ। त्यस्तो अवस्थामा पिसाबमा रहेका खनिज तथा अन्य पदार्थ क्रिस्टलका रूपमा जम्दै गएर बिस्तारै पत्थरी बन्न सक्छ।

सानो आकारका पत्थरी कतिपय अवस्थामा पिसाबसँगै आफैँ बाहिर निस्कन सक्छन्। तर ठूलो पत्थरीले पिसाबको प्रवाहमा अवरोध सिर्जना गर्ने भएकाले उपचार आवश्यक पर्न सक्छ। चिकित्सकीय अवस्थाअनुसार औषधि, उपकरणको प्रयोग वा शल्यक्रियाबाट पत्थरी निकालिन्छ।

सामान्यतया चार सेन्टिमिटरभन्दा ठूलो मूत्राशयको पत्थरीलाई ‘विशाल पत्थरी’ मानिन्छ। लामो समयसम्म मूत्राशयमा पत्थरी रहँदा पिसाब फेर्न कठिनाइ, दुखाइ, संक्रमण तथा अन्य जटिलता निम्तिन सक्छन्।

अघिल्लो कीर्तिमानभन्दा ठूलो

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्राशयबाट १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लामो पत्थरी निकालिएको थियो। त्यसलाई अहिलेसम्मकै ठूलो मूत्राशयको पत्थरीका रूपमा अभिलेख गरिएको थियो।

तर श्रीलङ्कामा हालै निकालिएको पत्थरीको तौल ३.१ किलोग्राम रहेको चिकित्सकहरूको दाबी छ। यसको लम्बाइ करिब १७ सेन्टिमिटर छ। तौलका आधारमा भने यो सन् २००३ मा ब्राजिलमा निकालिएको पत्थरीभन्दा करिब १.२ किलोग्राम ठूलो छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस