• ४ भदौ २०८३, बिहीबार

गजेन्द्रनारायण अस्पताल १०० शय्यामा विस्तार गरिने

राजविराज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल १०० शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन्।

आइतबार अस्पताल निरीक्षणपछि आयोजित अन्तरक्रियामा मन्त्री मेहताले स्वीकृत दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गरिने बताइन्। नवनिर्मित भवन हस्तान्तरणलगत्तै आईसीयू सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्। भवन भदौभित्र हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको उनको भनाइ छ।

मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढेपछि अस्पताललाई भविष्यमा ३०० शय्यासम्म विस्तार गर्नुपर्ने बताउँदै अस्पताल र प्रतिष्ठानको विकासलाई एकीकृत योजनाका साथ अघि बढाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा अस्पतालका सामाजिक इकाइ प्रमुख सूर्यकान्त झाले नवनिर्मित भवन शीघ्र हस्तान्तरण, नर्सिङ कलेज सञ्चालन, अस्पताल विकास समिति गठन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन आग्रह गरे। सहभागीले औषधिको नियमित उपलब्धता, आईसीयू सञ्चालन र आवश्यक जनशक्ति व्यवस्थापनको माग गरेका थिए।

मन्त्री मेहताले आइतबारै सप्तरीको भारदहस्थित जिल्ला अस्पतालको समेत निरीक्षण गरी सेवा प्रवाह, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएकी छन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस