स्वास्थ्य सेवा र लैङ्गिक हिंसा प्रतिकार्य सुदृढ गर्न ६० लाख डलरको कार्यक्रम
काठमाडौं। नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसा प्रतिकार्य सुदृढ गर्न नयाँ संयुक्त कार्यक्रम सुरु भएको छ। नेपालका लागि नर्वेली राजदूतावास र स्विस सरकार विकास सहयोग (एसडीसी)को आर्थिक सहयोगमा यूएनएफपीए र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कार्यक्रम सुरु गरेका हुन्।
६० लाख अमेरिकी डलरको लागतमा सञ्चालन हुने दुईवर्षे ‘एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैङ्गिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण’ कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० पालिकामा कार्यान्वयन हुनेछ।
कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहको स्वास्थ्य प्रणाली तथा लैङ्गिक हिंसाबाट प्रभावितलाई सेवा दिने क्षमता सुदृढ गर्नेछ। साथै गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र समुदायमा सेवा तथा सहयोगबारे सचेतना बढाउने काम गरिनेछ।
यो कार्यक्रम नेपालमा नर्वे र स्विट्जरल्यान्डको सहयोगमा विगत एक दशकदेखि सञ्चालन हुँदै आएका लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइमा आधारित छ।
यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले नेपालले यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाका क्षेत्रमा नीति तथा संरचना निर्माणमा प्रगति गरे पनि त्यसलाई गुणस्तरीय सेवामा रूपान्तरण गर्नु चुनौती रहेको बताए।
डब्ल्यूएचओ नेपालकी कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोतानोले स्वास्थ्य प्रणालीको क्षमता सुदृढ, क्लिनिकल मापदण्ड परिष्कृत र एकीकृत सेवा प्रवाहका लागि सरकारलाई सहयोग गर्ने बताइन्।
कार्यक्रमले एकीकृत सेवा प्रणालीलाई संस्थागत गर्दै आन्तरिक लगानी बढाउन र दिगो तथा राष्ट्रिय स्वामित्वमा आधारित स्वास्थ्य प्रणाली विकासमा नेपाल सरकारलाई सहयोग गर्ने लक्ष्य राखेको छ।















..jpeg)


प्रतिकृया दिनुहोस