तारकेश्वरमा प्रसूतिगृहको विशेषज्ञ सेवा पुनः सञ्चालन हुने
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले तारकेश्वर नगरपालिकामा महिनाको दुई दिन प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौता अस्पताल र तारकेश्वर नगरपालिकाबीच मंगलबार भएको हो।
सम्झौताअनुसार प्रसूतिगृहबाट खटिने विशेषज्ञ चिकित्सकले हरेक महिनाको दोस्रो बुधबार वडा नम्बर १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रबाट बहिरङ्ग सेवा दिनेछन्। यस्तै, प्रत्येक महिनाको अन्तिम बुधबार वडा नम्बर ८ स्थित मनमैजु स्वास्थ्य चौकीबाट प्रसूति तथा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा सञ्चालन हुनेछ।
यसैगरी, महिनामा एक दिन प्रसूतिगृह अस्पतालका रेडियोलोजिस्टमार्फत तारकेश्वरमै अल्ट्रासाउन्ड (यूएसजी) सेवा उपलब्ध गराइनेछ। यसबाट स्थानीय गर्भवती तथा स्त्रीरोगसम्बन्धी समस्या भएका सेवाग्राहीले स्थानीय तहमै विशेषज्ञ चिकित्सकको परामर्श तथा आवश्यक परीक्षण सेवा प्राप्त गर्नेछन्।
सम्झौतामा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि अस्पतालका निर्देशक डा. अधिकारीले स्थानीय नागरिकलाई सामान्य अवस्थामा विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए। उनका अनुसार स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध हुँदा जटिल समस्या भएका बिरामीलाई समयमै पहिचान गरी आवश्यक उपचारका लागि सम्बन्धित अस्पतालमा रिफर गर्नसमेत सहज हुनेछ।
‘यो सम्झौतापछि सेवाग्राहीले विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्दैन। जटिल समस्या देखिए तत्काल पहिचान गरी रिफर गर्न पनि सहज हुन्छ,’ उनले भने।
स्थानीय स्तरमै प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा र यूएसजी सुविधा उपलब्ध हुँदा सेवाग्राहीको समय तथा उपचारका लागि हुने आवतजावत खर्चसमेत घट्ने अस्पतालको अपेक्षा छ। डा. अधिकारीले नियमित रूपमा सञ्चालन हुने यस्तो सेवाले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै मातृ तथा शिशु मृत्युदर घटाउनसमेत सहयोग पुग्ने बताए।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले यसअघि पनि तारकेश्वर क्षेत्रमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको थियो। तर, केही समयदेखि उक्त सेवा रोकिएको थियो। नयाँ सम्झौतासँगै रोकिएको विशेषज्ञ सेवा पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।















..jpeg)


प्रतिकृया दिनुहोस