• ३० असोज २०८३, शुक्रबार

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन : विभाग

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा उपलब्ध मौज्दातको बिक्री-वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको बताएको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा मात्र रोक लगाइएको जनाएको हो। निर्धारित मापदण्ड पूरा नगरेका वा तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका औषधिमा यस्तो व्यवस्था लागू गरिएको विभागले जनाएको छ।

बजारमा यसअघि नै भित्रिसकेका वा बिक्री-वितरणमा रहेका औषधिको बिक्री तथा प्रयोगमा प्रतिबन्ध नलगाइएको भन्दै विभागले भ्रममा नपर्न सर्वसाधारण तथा बिरामीलाई आग्रह गरेको छ।

अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोग भएका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिको आपूर्तिमा अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाइएको विभागले जनाएको छ। जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई आपूर्ति सहज बनाउन बढीमा तीन महिनासम्म उत्पादन तथा आयातको अनुमति दिइएको विभागको भनाइ छ।

औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न तथा एक औषधिको प्रभाव अर्कोमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार छुट्टै उत्पादन सुविधा र आवश्यक सुरक्षा व्यवस्था लागू गरिएको विभागले जनाएको छ।

विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार औषधि नियमित सेवन गर्न र बजारमा उपलब्ध औषधिको बिक्री बन्द भएको वा अभाव हुने भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस