• ३० असोज २०८३, शुक्रबार

नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा २० प्रतिशतसम्म छुट

काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, शल्यक्रिया र फार्मेसीको बिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू हुने छैन।

सम्झौताअनुसार अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा तथा विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउनेछ। आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ। स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

स्वास्थ्य सेवा लिने कर्मचारी तथा सहभागीको पहिचान कोषको परिचयपत्रका आधारमा गरिनेछ। परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार दुवै संस्थाले स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा प्राप्त सूचना सुरक्षित राख्नुका साथै गोपनीयता कायम गर्नुपर्नेछ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस