• ३० असोज २०८३, शुक्रबार

गजुरीमा स्वास्थ्य शिविर, ३५१ जना लाभान्वित

 

धादिङ । धादिङको गजुरी गाउँपालिका–६, जरेबगैँचास्थित श्री भानुभक्त माध्यमिक विद्यालयमा शनिबार आयोजित एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरौँ’ भन्ने नारासहित गजुरी गाउँपालिकाको आयोजनामा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको शिविरबाट ३५१ जना नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामान्य चिकित्सा, बालरोग, छालारोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा ट्रमा सर्जरी, स्वास्थ्य सचेतना, मुटुको स्वास्थ्यसम्बन्धी प्राथमिक सहायता (सीपीआर) तालिम तथा मनोसामाजिक परामर्शलगायत सेवा प्रदान गरिएको थियो।

शिविरमा सशस्त्र प्रहरी बल नेपालका एसएसपी डा. भरत चन्दले बालरोग सेवा प्रदान गरेका थिए भने डीएसपी डा. सबिना महर्जनले छालारोगसम्बन्धी सेवा दिएका थिए। त्यसैगरी, डा. निरोज कार्कीले हाडजोर्नी तथा ट्रमा सर्जरी र डा. सोनी नेवाःले स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा प्रदान गरेका थिए। सशस्त्र प्रहरी बल नेपालकी डीएसपी डा. हिमानी पौडेलले आन्तरिक चिकित्सासहित सामान्य चिकित्सा सेवा दिएकी थिइन् भने डा. निशान्त श्रेष्ठ र डा. विशाल कुँवरले पनि सामान्य चिकित्सा सेवा प्रदान गरेका थिए।

माउन्टेन हार्ट नेपालका अध्यक्ष तथा सामान्य चिकित्सक डा. अबन गौतमले स्वास्थ्य सेवा प्रवाह तथा समन्वयमा योगदान दिएका थिए। शिविर संयोजक डा. राम थापा क्षेत्रीले समग्र व्यवस्थापन, स्वास्थ्य टोली परिचालन तथा सेवा प्रवाहको समन्वय गरेका थिए। महिला पुनर्स्थापना केन्द्र (वोरेक नेपाल) की टोली संयोजक सुमित्रा पौडेलले पनि शिविर व्यवस्थापन तथा सेवा प्रवाहमा भूमिका निर्वाह गरेकी थिइन्। इन्जिनियर सौरभ थापाले आवश्यक सामग्री तथा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। नेपाली सेनाको बैरेनी ब्यारेकबाट तीन जना पारामेडिकल स्वास्थ्यकर्मीसमेत परिचालन भएका थिए।

जटिल रोगको पहिचान, महिलाको स्वास्थ्य परीक्षण र आवश्यक रेफरल

शिविरका संयोजक डा. राम थापा क्षेत्रीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा जटिल प्रकृतिका रोग भएका १० जना बिरामीलाई थप परीक्षण तथा उपचारका लागि काठमाडौं रेफर गरिएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ परीक्षण गरिएको थियो। त्यसैगरी, पाठेघर खस्ने समस्या भएका पाँच जना महिलाको परीक्षण तथा उपचार गरिएको छ भने आँखासम्बन्धी समस्या भएका तीन जनालाई थप परीक्षण तथा उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

स्वास्थ्य सेवासँगै मानवीय सहायता र बालमैत्री गतिविधिलाई पनि शिविरमा प्राथमिकता दिइएको थियो। अत्यन्त विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका नागरिकका लागि ५१ बोरा खाद्यान्न र न्यानो कपडा वितरण गरिएको थियो। बालबालिकालाई मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै उनीहरूको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर बालमैत्री सिकाइसम्बन्धी अभ्याससमेत सञ्चालन गरिएको थियो।

 

स्वास्थ्य टोलीलाई सम्मान

शिविरमा सहभागी नौ जना चिकित्सक र पाँच जना प्यारामेडिकल स्वास्थ्यकर्मीसहितको टोलीलाई गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष भक्तबहादुर लामा, वडा नं. ५ का अध्यक्ष बद्री जम्कट्टेललगायतले सम्मान गरेका थिए। स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउने चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिताले शिविरलाई प्रभावकारी बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।

शिविरमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, माउन्टेन हार्ट नेपाल, महिला पुनर्स्थापना केन्द्र (वोरेक नेपाल), नवजीवन परोपकार समाज तथा कीर्तिगङ्गा मेडिकल सेन्टरलगायतका निकाय तथा संस्थाको प्राविधिक सहयोग, समन्वय र सहकार्य रहेको थियो।

शिविर संयोजक डा. राम थापा क्षेत्रीले नेपालको समग्र स्वास्थ्य सेवालाई सुदृढ बनाउन ग्रामीण तथा दुर्गम क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य सेवाको सहज पहुँचबाट टाढा रहेका नागरिकसम्म विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीलाई पुर्‍याउन यस्ता एकीकृत स्वास्थ्य शिविर प्रभावकारी माध्यम बन्न सक्ने बताए।

“नेपालको स्वास्थ्य सेवालाई बलियो बनाउन ग्रामीण तथा दुर्गम भेगको स्वास्थ्य सेवा सुदृढ हुन आवश्यक छ। त्यसका लागि स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकहरू नागरिकको घरदैलोसम्म पुग्नुपर्छ। यस्ता एकीकृत स्वास्थ्य शिविरमार्फत धेरै समयदेखि पहिचान हुन नसकेका रोगको स्क्रिनिङ, प्रारम्भिक पहिचान तथा आवश्यक उपचारका लागि रेफरल गर्न सकिन्छ। यसबाट समयमै स्वास्थ्य समस्या पहिचान गरी जटिलता न्यूनीकरण गर्न र नागरिकको स्वास्थ्य रक्षा गर्न सहयोग पुग्छ,” डा. क्षेत्रीले भने।

उनले सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्थाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा देशका अन्य दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा समेत यस्ता एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

ग्रामीण तथा सीमान्तकृत समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवा, रोगको प्रारम्भिक पहिचान, आवश्यक उपचारका लागि रेफरल तथा सामाजिक सहायता एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरले गजुरी र आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस