औषधि व्यवस्था विभागका सेवा अब राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन
काठमाडौं। औषधि व्यवस्था विभागले औषधि तथा औषधिजन्य सामग्रीको आयात–निर्यातसम्बन्धी सेवा अनलाइनमार्फत उपलब्ध गराउन सुरु गरेको छ। विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्लू) मार्फत प्रदान गरिने अनलाइन सेवाको सोमबार औपचारिक सुरुवात गरेको हो।
विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षता तथा भन्सार विभागका महानिर्देशकको प्रमुख आतिथ्यतामा बिजुलीबजारस्थित औषधि व्यवस्था विभागमा आयोजित समारोहमा सेवाको आरम्भ गरिएको हो।
कार्यक्रममा अर्थ मन्त्रालय, भन्सार विभाग, राष्ट्रिय एकद्वार प्रणाली तथा राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधिहरूको सहभागिता थियो।
नयाँ व्यवस्थाअनुसार औषधिजन्य कच्चा पदार्थ आयात, औषधि निर्यात, स्वास्थ्य प्रविधिजन्य सामग्री आयात, प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना तथा सन्दर्भ सामग्री आयात र बिरामीका लागि औषधि आयात गर्न आवश्यक सिफारिसपत्रका लागि अनलाइन आवेदन दिन सकिनेछ। औषधि आयातका लागि विशेष सिफारिसपत्रलगायतका सेवा पनि प्रणालीमा समेटिएका छन्।
यस प्रणालीमार्फत सेवाग्राहीले आवश्यक विवरण भरेर अनलाइन आवेदन दिन, सम्बन्धित कागजात अपलोड गर्न र लाग्ने राजस्व तथा शुल्क अनलाइन भुक्तानी गर्न सक्नेछन्। आवेदन स्वीकृत भएपछि प्रमाणपत्र तथा सिफारिसपत्रसमेत प्रणालीबाटै प्राप्त गर्न सकिने विभागले जनाएको छ।

अनलाइन सेवाले औषधि तथा औषधिजन्य सामग्रीको आयात–निर्यातसम्बन्धी प्रशासनिक प्रक्रिया सहज बनाउने, सेवाग्राहीको समय बचत गर्ने र प्रक्रियागत झन्झट घटाउने अपेक्षा गरिएको छ। साथै, सम्बन्धित सरकारी निकायबीचको समन्वय सुदृढ गर्दै व्यापार सहजीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
औषधि व्यवस्था विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयबीचको सहकार्यमा सुरु गरिएको यो सेवा विभागका कामकारबाहीलाई डिजिटल बनाउने तथा व्यापारसम्बन्धी प्रक्रियाको आधुनिकीकरण गर्ने प्रयासको एक हिस्सा हो।


..jpeg)














..jpeg)
प्रतिकृया दिनुहोस