• ३० असोज २०८३, शुक्रबार

आकस्मिक अवस्थामा जीवन बचाउन ९६ सरकारी कर्मचारीलाई सीपीआर तालिम

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा सरकारी कर्मचारीका लागि सञ्चालन गरिएको आधारभूत जीवनरक्षा सहायता (बेसिक लाइफ सपोर्ट–बीएलएस) सम्बन्धी तालिम सम्पन्न भएको छ।

आकस्मिक अवस्थामा जीवनरक्षा गर्न आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अघि सारेका दश प्राथमिकतापूर्ण कार्यमध्ये सबै सरकारी कार्यालयबाट कम्तीमा एक जना कर्मचारीलाई बीएलएस तालिम प्रदान गर्ने योजना छ। सोही योजनाअनुसार पहिलो चरणमा विभिन्न मन्त्रालय, सरकारी कार्यालय, विभाग तथा निकायका ९६ जना कर्मचारीलाई तालिम दिइएको हो।

तालिममा कार्यालय सहयोगी, व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ), राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार), राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) तथा सो सरहका कर्मचारी सहभागी भएका थिए। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको तालिमका चारवटै समूहको प्रशिक्षण सम्पन्न भएको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका सीप विकास शाखा प्रमुख डा. भक्तबहादुर केसीले बताए।

तालिममा हृदयघातका कारण मुटुको धड्कन बन्द हुने अवस्था (कार्डियाक अरेस्ट), श्वासप्रश्वासमा अवरोध (चोकिङ) लगायतका आकस्मिक अवस्थामा तत्काल जीवनरक्षा सहायता प्रदान गर्ने सीप सिकाइएको थियो। सहभागीलाई मुटु तथा श्वासप्रश्वास पुनः सञ्चालन प्रक्रिया (सीपीआर), चोकिङ व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास गराइएको थियो।

डा. केसीका अनुसार दोस्रो चरणमा थप सरकारी कर्मचारीलाई पनि तालिम दिने योजना छ। बेहोस भएको व्यक्तिलाई समयमै सीपीआर दिन सकेमा उसको जीवन बच्ने सम्भावना तीन गुणाले बढ्ने उनले बताए।

तालिमको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण पौडेल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहले अवलोकन गरेका थिए।

आकस्मिक स्वास्थ्य समस्या देखिँदा स्वास्थ्य संस्थामा पुर्‍याउनुअघि नै जीवनरक्षा सहायता उपलब्ध गराउन सकेमा बिरामीको जीवन बचाउने सम्भावना बढ्छ। सरकारी कर्मचारीलाई यस्तो सीप प्रदान गर्दा कार्यालयमा हुने आकस्मिक स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस