यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल र सवारी चालकलाई निर्देशन, यात्रु बिरामी भए चालक र होटल सञ्चालकलाई कारबाही हुने
काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई स्वच्छ, गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट र सवारी चालकलाई निर्देशन दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक सवारीका चालकलाई सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुलाई खाना तथा नास्ताका लागि रोक्न आग्रह गरेको हो।
यात्रुका लागि खाजा, नास्ता तथा खाना खुवाउन रोक्ने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्किएका खाना र अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि सम्बन्धित निकायले यस्तो निर्देशन दिएका हुन्।
खानाको गुणस्तरका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने सूचनामा उल्लेख छ।
त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खानाको स्वच्छता र गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सक्नेछन्। सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा समेत गुनासो गर्न सकिने जनाइएको छ।
सम्बन्धित निकायले होटल तथा रेस्टुरेन्टमा उपलब्ध हुने खाना र त्यसको मूल्यबारे निगरानी गरिरहेको जनाउँदै यात्रुलाई अस्वच्छ खाना तथा मूल्य ठगीबारे जानकारी गराउन आग्रह गरेका छन्।



..jpeg)













..jpeg)
प्रतिकृया दिनुहोस