• ३० श्रावण २०८३, शनिबार

डा ओम मूर्ति अनिलको महोत्तरीमा निःशुल्क मुटु स्वास्थ्य शिविर, ४०० जनाले लिए सेवा

महोत्तरी। डा. ओम फाउन्डेसनको शुभारम्भसँगै फाउन्डेसनमार्फत डा. ओम मूर्ति अनिलले आफू जन्मेको जिल्ला महोत्तरीको बलवा नगरपालिका धमौरामा मुटु रोग सम्वन्धी विशेष स्वास्थ्य शिविरको आयोजना गरेका छन्।

बलवा नगरपालिका वडा नं १० स्थित उनले ५ कक्षा सम्मको अध्ययन गरेको श्री जनता राष्ट्रिय माध्यमिक विद्यालयमा शिविर संचालन गरेका हुन।

शिविरको समापनसँगै आजै नगरकालिकाद्वारा सोही स्थानमा डा ओम मूर्तिलाई सम्मान गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दिप प्रज्वलन गरी डा. ओम फाउन्डेसनको औपचारिक शुभारम्भ समेत गरेका थिए।

डा. ओम फाउन्डेसनको शुभारम्भसँगै पहिलो कार्यक्रमका रुपमा यो शिविर आयोजना गरिएको र यसबाट गाउँमा मुटुरोगको अवस्था कस्तो छ भनी हेर्न सकिने डा ओम मुर्ति अनिलले बताए।

डा मूर्तिले लक्ष्य अनुरुप आवश्यक भएका मानिस मात्रले सेवा लिन पाउन भनी नगरपालिकाका ११ वडाबाट २०-२० जनाका दरले सिफारिस गर्न लागाएर २२० जना र अन्य यसै वडाका छिमेकी सहित चार सय भन्दा भढीको स्वास्थ्य  परीक्षण गरिएको बताए।

३ दिन सम्म चलेको उक्त शिविरको अन्तिम दिन आज आवश्यक पर्ने बिरामीको डा ओम मुर्तिले आफैले ईको गरेका थिए। मुटु रोगसम्बन्धी उक्त शिविरमा डाक्टरको कन्सल्टेसन, ल्याब, इसीजी तथा इको सहितको परिक्षण गरिएको थियो  जसमा ३२५ जनाको इसीजी, २४२ जनाको इको गरिएको थियो भने करिब ४०० जनाले आवश्यक औषधी निःशुल्क पाएका थिए।

शुभारम्भ, सम्मान तथा शिविरको समापन कार्यक्रममाका प्रमुख अतिथी मुख्य मन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारले विगत पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा नै बढी लगानी गरेको बताए। उनले अस्पतालको स्तरोन्नति, उपकरण  जनशक्तिमा सरकारले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए। मुख्य मन्त्री  यादवले डा ओम मुर्ति अनिलले जनताको सेवाको लागि गरेको काम प्रति आभार व्यक्त गरे।

त्यस्तै नगरपालिकाका प्रमुख राम विजय महतोले यस नगरपालिकाका स्कुल र  वडाका स्थानिय वासिन्दा तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका डा अनिलले यो शिविर गरेर आफ्नो गाउँको सेवा गरेकोका आभार व्यक्त गरे।

उक्त कार्यक्रममा बोल्दै डा ओम मूर्ति अनिलले आफ्नो स्कुलको प्रांगण तथा गाउँमा सम्मान पाउँदा हर्षले विभोर भएको बताए। उनले शिविरमा आएका र औषधीको आवश्यक पर्नेहरुलाई १ देखि ३ महिना सम्मको निःशुल्क औषधी उपलब्ध गराइएको जानकारी दिदै उक्त औषधी डाक्टरको सल्लाह बिना नछाड्न समेत आग्रह गरे।

सिविरमा उच्च रक्तचाप २१०/१३० सम्म भएका तथा सुगरको मात्रा ५ सय रहेका बिरामी बिना औषधी यहाँ पहिलो पल्ट जाँच गराउन आएको भेटिएको भन्दै उनले  शिविरमा आएका मध्ये ७० देखि ७५ प्रतिशतमा मुटु सम्बन्धी केही न केही समस्या रहेको बताए। अनेक कारणले गाउँमा पनि शहरकै हाराहारीमा मुटुको समस्या देखिएको जानकारी दिदै सुर्ती, चुरोट तथा तम्बाखूको सेवन नगर्न, आधा घण्टा हिड्न, जंकफुड नखान र  ४० वर्ष उमेर पुगेकाहरुले नियमित प्रेसर तथा सुगर चेक गर्न सल्लाह दिए।

त्यसैगरी कार्यक्रममा उक्त विद्यालयका पूर्वप्रअ तथा समाजसेवी सुशील कुमार यादव, खेलकुद तथा सामाजिक विकास मन्त्री सुरिता शाह, प्रदेश सांसद जयनुल राईन र नुरल निशा, वडा नं १० का अध्यक्ष राजकुमार यादव लगायतले फाउन्डेसनको स्थापना तथा डा. ओम मुर्तिका उपलब्धि तथा कुशलकार्यका लागि बधाई तथा शुभकामना दिएका थिए।

आयोजक डा. ओम फाउन्डेसन औपचारिक शुरूवात हुनुपूर्व नै आफ्नो उद्देश्य अनुरुप सक्रिय रहँदै आएको छ। काठमाडौंको बसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ। हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका करीब ५ सय जनाले फाउन्डेसनको वेवसाइडमा सम्पर्क गरी निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन्।

शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा समेत कार्य गर्ने फाउन्डेसनले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने तयारी गरिरहेको छ। डा. ओम मूर्ति अनिलद्वारा सामाजिक रूपान्तरणका निम्ति लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसन मार्फत् असाहय वृद्धवृद्धाका निम्ति खर्च गरिँदै छ।

शिविरमा डा ओम मुर्ति अनिल सहित डा ओम मुर्ती निखिल, डा अविशेख यादव, डा पूजा सिंह, डा गौरव सिंह, नर्सिङ सपोर्टमा पार्वती भगत र स्वास्थ्यकर्मीहरु सत्यम कुमार गुप्ता र राजन गुप्ता लगायत ३० जना स्वयंसेवक सहितको टोली खटेको थियो।  

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस