• ८ मङ्सिर २०८३, मंगलबार

अनामनगरमा ९ करोड ७७ लाखको लागतमा अटिजम स्कुल तथा अनुसन्धान केन्द्र बन्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षा, हेरचाह तथा उनीहरूको अवस्थासम्बन्धी अध्ययन र अनुसन्धानलाई एकीकृत गर्ने उद्देश्यले अनामनगरमा अटिजम स्कुल तथा रिसर्च सेन्टर भवन निर्माण गर्ने भएको छ।

महानगरपालिकाको वडा नं. २९ कार्यालय भवनको पूर्वतर्फ निर्माण हुने उक्त भवन पाँच तलाको हुनेछ। भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६ सय २६ रुपैयाँ लागत निर्धारण गरिएको छ।

भवन निर्माणको कार्यादेश २०८३ मंसिर ३ गते जारी गरिएको छ भने निर्माण सम्पन्न गर्ने अवधि २०८४ चैत मसान्तसम्म तोकिएको छ। निर्माणको जिम्मेवारी इक्फफाटा कन्स्ट्रक्सन प्रालिले पाएको छ।

भवनको भुइँतलादेखि तेस्रो तलासम्म अटिजम स्कुल सञ्चालन गर्ने योजना छ। चौथो तलामा प्रशासनिक एकाइ र अटिजमसम्बन्धी अनुसन्धान केन्द्र रहनेछ।

भवनमा आठ जना क्षमताको लिफ्ट, अपाङ्गमैत्री र्‍याम्प तथा अपाङ्गमैत्री शौचालयको व्यवस्था गरिनेछ। पर्याप्त खुला क्षेत्रसमेत रहने गरी भवनको डिजाइन तयार भएको छ।

अटिजम शिक्षाका लागि महानगरको पहल

काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय सञ्चालन गर्ने विषयमा यसअघि नै अध्ययन प्रक्रिया अघि बढाएको थियो। महानगरपालिकाको तत्कालिन सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालनसम्बन्धी अध्ययन समिति गठन गरिएको थियो।

अटिजम तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका अभिभावकले उनीहरूको शिक्षा, सीप विकास, सहजकर्ता तथा सहयोगी शिक्षकको व्यवस्थापन र भविष्यमा आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत यो परियोजन अघि बढाइएको हो।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस