• ३ मङ्सिर २०८३, बिहीबार

एमबीबीएस पढ्न १० हजार ३२१ विद्यार्थी योग्य, नेपालीका लागि करिब दुई हजार सिट मात्र (रिजल्ट सहित)

काठमाडौं। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि एमबीबीएस अध्ययन गर्न नेपाली विद्यार्थीका लागि करिब दुई हजार सिट उपलब्ध गराएको छ। तर, यस वर्ष एकीकृत प्रवेश परीक्षामा १० हजार ३२१ विद्यार्थी उत्तीर्ण भएका छन्। यसअनुसार एमबीबीएस अध्ययनका लागि योग्य विद्यार्थीको संख्या उपलब्ध सिटभन्दा निकै बढी छ।

आयोगले देशभरका २८ मेडिकल कलेज तथा प्रतिष्ठानमा ११० सिट थप गरी यस वर्ष कुल २ हजार ७४५ एमबीबीएस सिट निर्धारण गरेको छ। गेटा मेडिकल कलेज र नेपाल आर्मी मेडिकल कलेजमा थपिएका सिटसमेत यसमा समावेश छन्।

आयोगले बुधबार सार्वजनिक गरेको एकीकृत प्रवेश परीक्षा नतिजाअनुसार परीक्षामा सहभागी २० हजार ५७९ विद्यार्थीमध्ये १० हजार ३२१ जना उत्तीर्ण भएका छन्। यो सहभागी कुल विद्यार्थीको करिब ५० प्रतिशत हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. देवेन्द्र खत्रीले एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएका हुन्।

आयोगका अनुसार परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीले १८७.५ अङ्क ल्याएका छन्। परीक्षामा उत्तीर्ण हुन आवश्यक न्यूनतम कटअफ अङ्क ५६.२५ निर्धारण गरिएको थियो। उक्त अङ्क ५०औँ पर्सेन्टाइलको मापदण्डका आधारमा कायम गरिएको हो।

आयोगले निर्धारण गरेको कुल २ हजार ७४५ सिटमध्ये करिब एकतिहाइ अर्थात् ९०५ सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ। बाँकी दुईतिहाइ अर्थात् करिब १ हजार ८४० सिट नेपाली विद्यार्थीका लागि छुट्याइएको छ। नेपाली कोटामा छात्रवृत्ति र सशुल्क दुवै सिट समावेश छन्।

यद्यपि, विदेशी कोटामा अपेक्षाकृत कम विद्यार्थी भर्ना हुने भएकाले खाली रहने सिट नेपाली विद्यार्थीले पाउने अवसर रहन्छ। विदेशी कोटाका रिक्त सिटसमेत नेपाली सशुल्क कोटामा रूपान्तरण हुँदा नेपाली विद्यार्थीका लागि उपलब्ध सिट संख्या करिब २ हजार १०० देखि २ हजार ३०० भन्दा बढी पुग्न सक्ने अनुमान छ।

यसरी प्रवेश परीक्षामा उत्तीर्ण भएका १० हजार ३२१ विद्यार्थीमध्ये ठूलो संख्याका विद्यार्थीले यस वर्ष एमबीबीएस अध्ययनको अवसर नपाउने देखिएको छ। नतिजा सार्वजनिक भएसँगै आयोगले भर्ना तथा विद्यार्थी छनोट प्रक्रिया अघि बढाउनेछ।

रिजल्ट हेर्न यो पिडिएफ हेर्नुहोस 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस