• ८ मङ्सिर २०८३, मंगलबार

१४ बुँदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न

काठमाडौं। स्वास्थ्य प्रवर्द्धनलाई राज्यले स्वास्थ्य क्षेत्रको विकासको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने र यसका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको निष्कर्षसहित १४ बुँदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन शनिबार सम्पन्न भएको छ। शुक्रबारदेखि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको दुईदिने सम्मेलनको अन्तिम दिन स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनका क्षेत्रमा करिब एक दर्जन कार्यपत्र प्रस्तुत गरिएका थिए।

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन सञ्चालन भएको हो।

सम्मेलनले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्दै १४ बुँदे एजेन्डा अघि सारेको छ। घोषणापत्रमा सबै नीतिमा स्वास्थ्यको अवधारणा लागू गर्ने, राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन आयोग गठन गर्ने, स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय विकासको एजेन्डाका रूपमा स्थापित गर्ने तथा संघ, प्रदेश र स्थानीय तहसम्म अन्तरक्षेत्रीय समन्वय र एकीकृत कार्यक्रम विस्तार गर्ने विषय समेटिएका छन्। त्यस्तै, स्वास्थ्य प्रवर्द्धनमुखी विद्यालय तथा संस्थाको विकास, सुरक्षित खानेपानी र सरसफाइको व्यवस्था, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन र रोगको उपचारभन्दा रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

यसैगरी, स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको प्रभावकारी परिचालन, दक्ष जनशक्ति विकास, स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने व्यावसायिक गतिविधि तथा स्वास्थ्यका व्यावसायिक निर्धारकको सम्बोधन र स्वास्थ्य प्रवर्द्धनका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने एजेन्डा पनि घोषणापत्रमा समेटिएका छन्। स्वास्थ्य प्रवर्द्धनसम्बन्धी अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माणलाई प्रोत्साहन गर्ने र राष्ट्रियस्तरमा सम्मेलन, छलफल तथा अन्तरक्रियामार्फत ज्ञान र अनुभव आदानप्रदान गर्ने विषयलाई समेत प्राथमिकता दिइएको छ।

स्वास्थ्य  प्रवर्द्धन  तथा शिक्षा संघ नेपालका अध्यक्ष हेमराज खड्काले सम्मेलन सफल भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने जनाए। त्यस्तै संघका उपाध्यक्ष विनोद अर्यालले नेपालमा पहिलोपटक यस किसिमको सम्मेलन आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको बताए।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले स्वस्थ समाज निर्माणका लागि सरकारले स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको बताइन्। सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनको अभियानलाई सफल बनाउन सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको बताइन्।

सम्मेलनका अवसरमा स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा योगदान पुर्‍याएका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका पूर्वनिर्देशकहरू लक्ष्मीरमण बन र लक्ष्मीनारायण देवलाई सम्मान गरिएको लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

“स्वास्थ्य प्रवर्द्धनलाई एउटा गतिविधिका रूपमा मात्र होइन, एक स्वतन्त्र विधाका रूपमा बुझौँ” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको उद्घाटन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गरेकी थिइन्।

नेपालमा आयोजना गरिएको प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलनको समापनको दिनलाई ‘नेशनल हेल्थ प्रमोसन डे’ को समेत घोषणा गरिएको थियो।  

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस