अनुसन्धानका निष्कर्षबाट औषधि नीति बन्नुपर्छ
सबैभन्दा महत्वपूर्ण कुरा, अनुसन्धान र नीति निर्माणबीचको दूरी घटाउनुपर्छ। अनुसन्धान निकायले जुटाएका प्रमाणलाई मन्त्रालय, नियामक निकाय र स्वास्थ्य संस्थाको निर्णय प्रक्रियासँग जोड्ने ‘रिसर्च टु पोलेसी’ संयन्त्र आवश्यक छ।
नेपालमा औषधिसम्बन्धी बहस उत्पादन, आयात, मूल्य र उद्योग संरक्षणमा बढी केन्द्रित छ। तर नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले गरेका विभिन्न अनुसन्धानका निष्कर्ष केलाउँदा औषधिको गुणस्तर, सुरक्षित प्रयोग, ब्लड कल्चर रिपोर्टविना नै औषधि प्रेस्क्रिप्सन, जेनेरिक मेडिसिन, फार्माकोभिजिलेन्स र एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) लाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने देखिन्छ।
एनएचआरसीले सन् २०१९ मा ‘क्वालिटी अफ इसेन्सियल मेडिसिन्स इन पब्लिक हेल्थ केयर फ्यासिलिटी अफ नेपाल’ अध्ययनले सरकारी स्वास्थ्य संस्थामा वितरण हुने अत्यावश्यक औषधिको गुणस्तरमा महत्वपूर्ण प्रश्न उठाएको थियो।
२१ जिल्लाका ६२ सरकारी स्वास्थ्य संस्थाबाट संकलित २४४ ब्याचमध्ये ३७ ब्याच अर्थात् १५.१६ प्रतिशत औषधि मापदण्डभन्दा कम गुणस्तर पाइएका थिए। यसले सरकारी आपूर्ति प्रणाली, खरिद प्रक्रिया, औषधि उत्पादन गुणस्तर र स्वास्थ्य संस्थामा भण्डारण प्रणाली सबैमा गुणस्तर सुनिश्चित गर्ने संयन्त्र कमजोर रहेको देखिन्छ।
औषधिको गुणस्तरसँगै यसको उचित प्रयोग पनि उत्तिकै महत्वपूर्ण छ। सन् २०२० मा एनएचआरसीको प्रेस्क्रिप्सनसम्बन्धी एक अध्ययनमा ६ हजार १७५ प्रेस्क्राइब गरिएका औषधिमध्ये २३.७४ प्रतिशत एन्टिबायोटिक रहेको पाइएको थियो। यसले ‘¥यासनल मेडिसिन युज’लाई औषधि नीतिको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने देखाउँछ। अध्ययनले औषधि प्रयोगसम्बन्धी ज्ञान र तर्कसंगत औषधि प्रयोगमा समेत कमजोरी देखाएको छ।
सन् २०२० मा प्रकाशित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग सम्बन्धित एक अध्ययनले नेपालका ८८ स्वास्थ्य संस्थामा प्रेस्क्राइब गरिएका ६ हजार १७५ औषधिको विश्लेषण गर्दा २३.७४ प्रतिशत एन्टिबायोटिक रहेको देखाएको थियो।
अध्ययनमा ६०.७१ प्रतिशत औषधि जेनेरिक नाममा प्रेस्क्राइब गरिएको भए पनि प्रेस्क्रिप्सनअनुसार पर्याप्त मात्रामा औषधि पाउने बिरामीको अनुपात ५१.८१ प्रतिशत र औषधिको प्रयोगसम्बन्धी पर्याप्त जानकारी भएका बिरामीको अनुपात करिब ४९ प्रतिशत मात्र पाइएको थियो।
अध्ययनले औषधि प्रयोगसम्बन्धी बिरामीको ज्ञान तथा तर्कसंगत औषधि प्रयोगमा सुधार आवश्यक रहेको औँल्याएको छ। यसले अनावश्यक तथा अनुचित एन्टिबायोटिक प्रयोग नियन्त्रण, स्वास्थ्यकर्मीको प्रेस्क्राइबिङ अभ्यासमा सुधार र बिरामीलाई औषधिको सही प्रयोगबारे पर्याप्त जानकारी दिनुलाई औषधि नीतिको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने देखाउँछ।
अनुचित एन्टिबायोटिक प्रयोग मानव स्वास्थ्यको मात्र समस्या होइन। अध्ययनहरूले पशु स्वास्थ्य क्षेत्रलाई समेत समेटेको छ। मानव, पशु, खाद्य प्रणाली र वातावरणमा एन्टिबायोटिकको प्रयोग तथा प्रतिरोध एकअर्कासँग जोडिएका छन्। त्यसैले एएमआर नियन्त्रणका लागि मानव स्वास्थ्यसँगै पशु स्वास्थ्य र वातावरणलाई समेट्ने ‘वान हेल्थ’ रणनीति, अनुमोदन, र कार्यान्वयन गर्न आवश्यक छ।
तसर्थ, मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकै छातामुनि समेट्दै ‘वान हेल्थ’ दृष्टिकोणमा केन्द्रित भएर देशव्यापी रूपमा अझ बढी विस्तृत ‘एएमआर’ निगरानी अध्ययन आवश्यक छ, जसले एएमआरको सर्ने स्रोत र एएमआर प्रतिरोधी संयन्त्र कसरी प्रमुख बन्दै गएको छ भन्ने कुरा बुझ्न सहयोग पुगोस्।
अर्कोतर्फ, नेपाल जस्ता विकासशील देशहरूमा एएमआरको बढ्दो प्रवृत्ति एउटा ठूलो प्रश्न बनेको छ, र नेपालमा एएमआरको नियन्त्रण तथा रोकथामका लागि ‘एक स्वास्थ्य’ दृष्टिकोणका रणनीतिहरू, एन्टिमाइक्रोबियल स्टेवार्डसिप र अन्य विकसित रणनीतिहरू कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।
त्यसैगरी, औषधि बजारमा आएपछि त्यसको सुरक्षा र प्रभावकारिताको निरन्तर निगरानी पनि उत्तिकै आवश्यक छ। एनएचआरसीबाट एडभर्स ड्रग रियाक्सन, उपभोक्ता फार्माकोभिजिलेन्स तथा एडीआर रिपोर्टिङको गुणस्तरसम्बन्धी अनुसन्धान भएका छन्। तर यस्ता अनुसन्धानबाट प्राप्त ज्ञानलाई नियमित नियामकीय अभ्यासमा कार्यन्वयन गर्न आवश्यक छ।
अनुसन्धानमा आधारित नीति आवश्यक
औषधिको गुणस्तरका लागि जोखिममा आधारित राष्ट्रिय सर्भिलेन्स प्रणाली विकास गर्नुपर्ने देखिन्छ भने प्रेस्क्रिप्सनविना एन्टिबायोटिक बिक्री नियन्त्रण, डिजिटल प्रेस्क्रिप्सन, फार्मासिस्टको निरन्तर तालिम र नियमित निरीक्षणलाई र एकीकृत डिजिटल प्रणाली कार्यान्वयन गर्नुपर्छ। अस्पतालमा ‘एन्टिमाइक्रोबियल स्टेवार्डसिप प्रोग्राम’ लागू गरी एन्टिबायोटिकको खपत र प्रतिरोधको अवस्था नियमित विश्लेषण गर्नुपर्छ।
नेपाल सरकारको पोर्टलमा रहेको नियमित ‘एचएमआईएस’ प्रणालीको ‘एएमआर’ प्रतिवेदनका आधारमा, नेपालको सन्दर्भमा झल्किने एएमआर रणनीति नीतिहरू विकास र अद्यावधिक गर्न एएमआर डेटाको सावधानीपूर्वक र गम्भीर विश्लेषण गरिनुपर्छ, जसले नेपालमा दीर्घकालीन रणनीतिक लक्ष्यअन्तर्गत एएमआरको नियन्त्रण र रोकथाममा सहयोग पुर्याउने छ।
सबैभन्दा महत्वपूर्ण कुरा, अनुसन्धान र नीति निर्माणबीचको दूरी घटाउनुपर्छ। एनएचआरसीलगायत अनुसन्धान निकायले उत्पादन गरेका प्रमाणलाई मन्त्रालय, नियामक निकाय र स्वास्थ्य संस्थाको निर्णय प्रक्रियासँग जोड्ने ‘रिसर्च टु पोलेसी’ संयन्त्र आवश्यक छ।






















प्रतिकृया दिनुहोस