औषधिको उचित प्रयोगबारे छलफल गर्न २५ देशका १५० प्रतिनिधि काठमाडौंमा भेला हुँदै
काठमाडौं। विश्वभर औषधिको उचित प्रयोग र एन्टिबायोटिक प्रतिरोध (एएमआर) बढ्दो चुनौतीका रूपमा देखिएका बेला यसबारे छलफल गर्न २५ देशका करिब १५० प्रतिनिधि काठमाडौंमा भेला हुने भएका छन्।
नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंको र्याडिसन होटल, लाजिम्पाटमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय ‘ईसियम’ (ISIUM) सम्मेलनमा औषधिको उचित प्रयोग, डिजिटल प्रविधिको उपयोग, अनुसन्धान र नीतिगत सुधारका विषयमा छलफल हुनेछ।
सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा नेपाल आयोजक समितिका अध्यक्ष डा. कादिर आलमले नेपालसहित २५ देशका अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, फार्मासिस्ट, नर्स, स्वास्थ्य क्षेत्रका विज्ञ तथा विद्यार्थी सहभागी हुने जानकारी दिए।
उनका अनुसार सम्मेलनमा डिजिटल प्रविधि, शिक्षा तथा सचेतना र अनुसन्धानलाई आधार बनाएर विभिन्न सत्र सञ्चालन गरिनेछन्। सम्मेलनमा ६२ वटा पोस्टर प्रस्तुति, २५ वटा मौखिक प्रस्तुति, दुईवटा प्लेनरी सत्र तथा विभिन्न कार्यशाला आयोजना हुनेछन्।
पत्रकार सम्मेलनमा ‘ईसियम’की डा. फातिमा सुलेमानले विश्वभर औषधिको उचित प्रयोगबारे सचेतना आवश्यक रहेको बताइन्। उनले एन्टिबायोटिक प्रतिरोधको समस्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै एन्टिबायोटिकको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न यस्ता अन्तर्राष्ट्रिय सम्मेलन महत्त्वपूर्ण हुने बताइन्।
सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझावलाई नीति निर्माता र सम्बन्धित निकायसम्म पुर्याइने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय विज्ञको मुख्य सम्बोधन
‘बदलिँदो विश्वमा औषधिको उचित प्रयोग’ (Improving Use of Medicines in a Changing World) मूल विषय रहेको सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय विज्ञले मुख्य सम्बोधन तथा अनुसन्धान प्रस्तुति दिनेछन्।
डिजिटल प्रविधिमार्फत औषधिको प्रयोग सुधार गर्ने विषयमा इजिप्टको कायरो विश्वविद्यालयकी एसोसिएट प्रोफेसर तथा संयुक्त अरब इमिरेट्सस्थित हायर कलेजेज अफ टेक्नोलोजीको फार्मेसी कार्यक्रमकी अध्यक्ष डा. हेबा मोहम्मदले मुख्य सम्बोधन गर्नेछिन्।
त्यसैगरी, औषधिको गुणस्तरीय प्रयोगसम्बन्धी अनुसन्धान तथा मूल्यांकन विधिबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जेनेभाकी प्राविधिक अधिकृत डा. भेरिका इभानोभ्स्काले प्रस्तुति दिनेछिन्। नेदरल्यान्ड्सस्थित युट्रेच्ट विश्वविद्यालयकी प्राध्यापक तथा डब्लूएचओ कोलाबोरेटिङ सेन्टर फर फार्मास्युटिकल पोलिसी एन्ड रेगुलेसनकी वैज्ञानिक निर्देशक प्रा. डा. आउक्जे मान्टेल–ट्युविसेले पनि यस विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनमा ल्यान्सेट कमिसनका तर्फबाट प्रोफेसर लिबी रौगहेडले पनि सम्बोधन गर्नेछिन्। उनी अस्ट्रेलियाको युनिभर्सिटी अफ साउथ अस्ट्रेलियास्थित क्वालिटी युज अफ मेडिसिन्स एन्ड फार्मेसी रिसर्च सेन्टरकी निर्देशक तथा ‘ईसियम’की अध्यक्ष हुन्।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) र औषधिसम्बन्धी सूचना व्यवस्थापनका विषयमा ब्राजिलका आन्द्रे एन्ड्राडेले प्रस्तुति तथा कार्यशाला सञ्चालन गर्नेछन्। उनको सत्रमा बिरामीलाई औषधिबारे जानकारी तथा परामर्श दिन च्याटजीपीटीजस्ता प्रविधिको उपयोगबारे छलफल हुनेछ।
तीन मुख्य विषयमा छलफल
सम्मेलनमा मुख्यतः तीन विषयलाई प्राथमिकता दिइएको छ। पहिलो, औषधिको प्रयोग सुधारमा डिजिटल प्रविधिको उपयोग; दोस्रो, औषधिको गुणस्तरीय प्रयोगको अनुसन्धान तथा मूल्यांकन गर्ने विधि; र तेस्रो, औषधिको उचित प्रयोग प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमको कार्यान्वयन।
सम्मेलनको पहिलो दिन नोभेम्बर १९ मा औषधिको गुणस्तरीय प्रयोग मापन गर्ने नीति, अध्ययन डिजाइन र सूचकसम्बन्धी कार्यशाला सञ्चालन हुनेछ। उक्त कार्यशाला डा. क्याथलिन होलोवेले सहजीकरण गर्नेछिन्। त्यस्तै, एआई र औषधिसम्बन्धी सूचनाको विषयमा आन्द्रे एन्ड्राडेले कार्यशाला सञ्चालन गर्नेछन्।
दोस्रो दिन डिजिटल प्रविधिमार्फत औषधिको प्रयोग सुधार, औषधिमा पहुँच तथा औषधिको उचित प्रयोगसम्बन्धी नीति कार्यान्वयनका विषयमा छलफल हुनेछ। यस दिन औषधिको गुणस्तरीय प्रयोगको अनुसन्धान विधिसम्बन्धी मुख्य सत्रमा डा. भेरिका इभानोभ्स्का र प्रा. डा. आउक्जे मान्टेल–ट्युविसेले प्रस्तुति दिनेछन्।
त्यसैगरी, अस्ट्रेलियाको औषधिको उचित प्रयोग प्रणाली, थाइल्यान्डको अनुभव, बालबालिकामा औषधिको उचित प्रयोग तथा इन्डोनेसियामा गरिएको अनुसन्धानका विषयमा विभिन्न विज्ञले प्रस्तुति दिने कार्यक्रम छ।
तेस्रो दिन औषधिको उचित प्रयोग सुधारका लागि नीति तथा कार्यक्रम कार्यान्वयनका अनुभव आदानप्रदान गरिनेछ। यस क्रममा आदिवासी समुदायबाट औषधिको उचित प्रयोगबारे सिकाइ, दक्षिण अफ्रिकाको सार्वजनिक स्वास्थ्य प्रणालीमा औषधि प्रयोगको गुणस्तर र दक्षता सुधारका प्रयास तथा नेपालमा औषधिको तर्कसंगत प्रयोगसम्बन्धी शिक्षण अनुभव प्रस्तुत गरिनेछ।
नेपालसहित विभिन्न देशका अनुसन्धान प्रस्तुत हुने
सम्मेलनमा नेपालसहित विभिन्न देशका अनुसन्धानकर्ताले औषधि प्रयोग, एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर), औषधिको पहुँच, औषधि सुरक्षासम्बन्धी निगरानी, औषधि नीतिको कार्यान्वयन र स्वास्थ्य सेवामा प्रविधिको उपयोगबारे अनुसन्धान प्रस्तुत गर्नेछन्।
नेपालबाट औषधि प्रयोगको ढाँचा, एन्टिबायोटिकको खपत, औषधि सिफारिसमा देखिने त्रुटि, औषधि सुरक्षासम्बन्धी प्रतिकूल घटना र औषधिको तर्कसंगत प्रयोगसम्बन्धी अनुसन्धानसमेत प्रस्तुत हुने कार्यक्रम छ।
सम्मेलनमा स्वीकृत अनुसन्धानका एब्सट्र्याक ‘जर्नल अफ फर्मास्युटिकल पोलिसी एन्ड प्राक्टिस’मा प्रकाशित गरिने आयोजकले जनाएको छ।
औषधिको अनुचित प्रयोग, आवश्यकताभन्दा बढी औषधि सेवन, उपचारमा औषधिको गलत छनोट तथा एन्टिमाइक्रोबियल प्रतिरोध विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन्। यस्तो अवस्थामा सम्मेलनले औषधिको तर्कसंगत प्रयोगका लागि व्यावहारिक उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सोसाइटीको आयोजनामा हुने यो तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। यसअघि सन् २०२० मा थाइल्यान्डको बैंकक र सन् २०२३ मा चियाङमाईमा पहिलो र दोस्रो सम्मेलन आयोजना भएका थिए।
सम्मेलनले औषधिको उचित प्रयोगका क्षेत्रमा विश्वभर भइरहेका प्रयास, चुनौती र उपलब्धिबारे अनुभव आदानप्रदान गर्नुका साथै नेपालसहित विभिन्न देशबीच अनुसन्धान, नीति निर्माण र सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।



















प्रतिकृया दिनुहोस