• ८ मङ्सिर २०८३, मंगलबार

अदालतको आदेशपछि नेपाल औषधि व्यवसायी संघको निर्वाचन स्थगित

काठमाडौं। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को निर्वाचन तथा अधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। उच्च अदालत पाटनले संघको मतदाता नामावली, निर्वाचन कार्यतालिका र त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको हो।

संघको १५औँ राष्ट्रिय अधिवेशन यही मंसिर ५ र ६ गते सुर्खेतमा आयोजना गर्ने कार्यतालिका तय गरिएको थियो। तर, अधिवेशन सुरु हुन तीन दिनअघि अदालतले निर्वाचनसम्बन्धी प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएपछि अधिवेशन तथा निर्वाचन प्रक्रिया प्रभावित भएको छ।

निवेदक लक्ष्मीप्रसाद तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल औषधि व्यवसायी संघको केन्द्रीय कार्यालय, संघको निर्वाचन समितिको केन्द्रीय सचिवालय, प्रमुख निर्वाचन अधिकृत शिवराज धिताल र केन्द्रीय सहायक कार्यालय प्रमुख गणेश पुडासैनीलाई विपक्षी बनाई उत्प्रेषणको मागसहित रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले २०८३ मंसिर २ गते विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अल्पकालीन अन्तरिम आदेश दिएको हो। निवेदकका तर्फबाट अधिवक्ता प्रविण सुवेदीले बहस गरेका थिए।

आदेशमा के छ ?

अदालतको आदेशमा दुवै पक्षबीच छलफल गरेर अन्तरिम आदेशका सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने उल्लेख छ। त्यसका लागि मंसिर ८ गतेको पेसी तोक्दै उक्त मितिसम्म २०८३ कात्तिक १७ र १८ गते प्रकाशित मतदाता नामावली, निर्वाचन कार्यतालिका तथा त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न आदेश दिइएको छ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम जारी आदेशमा विपक्षीहरूलाई निवेदनको मागबमोजिम आदेश जारी हुनु नपर्ने आधार, कारण र प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनिएको छ।

विपक्षीमध्ये जिल्ला प्रशासन कार्यालय काठमाडौंका हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत तथा अन्य विपक्षीका हकमा आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिइएको छ।

अब मंसिर ८ गते हुने दुवै पक्षबीचको छलफलपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नेछ। त्यसपछि मात्रै संघको निर्वाचन तथा अधिवेशन प्रक्रियाबारे थप स्पष्टता आउनेछ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस