तीन दशकको यात्रामा टाइम फार्मास्युटिकल्स, औषधि उत्पादनदेखि निर्यातसम्म विस्तार
काठमाडौं। नेपाली औषधि उद्योगमा तीन दशकको यात्रा पूरा गरेको टाइम फार्मास्युटिकल्स लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा चिकित्सक, फार्मासिस्ट, स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार, ग्राहक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।
कम्पनीका अध्यक्ष डा. जी. नारायणबहादुर क्षेत्री र प्रबन्ध निर्देशक सुदर्शनलाल श्रेष्ठले वार्षिकोत्सवका अवसरमा सन्देश जारी गर्दै कम्पनीको यात्रामा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेका हुन्।
कम्पनीले ३० वर्षको यात्रालाई अर्थपूर्ण बनाउन चिकित्सक, फार्मासिस्ट, स्वास्थ्यकर्मी, साझेदार, ग्राहक तथा कर्मचारीको विश्वास, प्रोत्साहन र सहयोग महत्त्वपूर्ण रहेको जनाएको छ। हरेक सम्बन्ध र उपलब्धिले कम्पनीको यात्रालाई विशेष बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सन् १९९५ (वि.सं. २०५२) अक्टोबरमा स्थापना भएको टाइम फार्मास्युटिकल्सले सन् १९९७ नोभेम्बरदेखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको थियो। कम्पनीले सुरुवातमा ‘साइनेक्स’ एन्टिकोल्ड ट्याब्लेटसहित आठ प्रकारका औषधि बजारमा ल्याएको थियो।
स्थापनाको सुरुवाती चरणबाट उत्पादन विविधीकरण गर्दै आएको कम्पनीले अहिले ट्याब्लेट, क्याप्सुल, मलम, सिरप, लिक्विड ओरल, ड्राइ पाउडर, पेनिसिलिन, सेफालोस्पोरिन तथा स्टेराइल फर्मुलेसनअन्तर्गतका विभिन्न औषधि उत्पादन गर्दै आएको छ।
कम्पनीका अनुसार यसको उत्पादन पोर्टफोलियोमा २०० भन्दा बढी औषधि छन्। सन् २००५ देखि डब्लुएचओ–जीएमपी प्रमाणीकरण प्राप्त गर्दै आएको कम्पनीले उत्पादनको गुणस्तर, सुरक्षा र प्रभावकारितालाई प्राथमिकतामा राखेको जनाएको छ।
औषधि उत्पादनसँगै कम्पनीले विभिन्न चिकित्सकीय क्षेत्रलाई लक्षित गरी छुट्टाछुट्टै डिभिजनसमेत विस्तार गरेको छ। कार्डियोलोजी, डायबेटोलोजी, इन्डोक्राइनोलोजी, मानसिक स्वास्थ्य, छालारोग, स्त्रीरोग तथा बालरोगलगायतका क्षेत्रमा औषधि उपलब्ध गराउँदै आएको छ।
कम्पनीले आन्तरिक बजारमा आफ्नो उपस्थिति विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत औषधि निर्यात सुरु गरेको छ। हङकङलगायतका बजारमा निर्यात विस्तार गरेको कम्पनीले पछिल्लो समय चीनमा समेत औषधि पठाउन थालेको जनाएको छ।
तीन दशकको यात्रालाई उपलब्धिका रूपमा लिँदै कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय औषधि उत्पादन, प्रविधिको विकास, अनुसन्धान तथा बजार विस्तारमा केन्द्रित हुने जनाएको छ।
कम्पनीले ‘टचिङ लाइभ्स, डेलिभरिङ प्रमिसेस’ नारासहित औषधिको गुणस्तर र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



















प्रतिकृया दिनुहोस