• ८ मङ्सिर २०८३, मंगलबार

कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता

काठमाडौं । कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) बीच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारी भएको छ।

जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र प्रतिष्ठानबीच सोमबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।

कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले सम्झौतामा हस्ताक्षर गरेका छन्। कार्यक्रममा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ साक्षी बसेका थिए।

सम्झौताअनुसार दुवै अस्पतालले बिरामीको आवश्यकताअनुसार विशेषज्ञ सेवा उपलब्ध गराउन एकअर्कामा बिरामी प्रेषण गर्नेछन्। साथै, आवासीय चिकित्सक, मेडिकल विद्यार्थी, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई क्लिनिकल रोटेशन र तालिमको अवसर प्रदान गरिनेछ।

यसअन्तर्गत कीर्तिपुर अस्पतालमा बर्न तथा प्लास्टिक सर्जरी र पाटन अस्पतालमा एनेस्थेसियालगायतका विधामा क्लिनिकल तालिम सञ्चालन गरिनेछ।

त्यस्तै, दुवै संस्थाले संयुक्त रूपमा निरन्तर चिकित्सा शिक्षा (सीएमई), सेमिनार, कार्यशाला तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस