नेपालको औषधि बजारका १० मा ६ नेपाली उद्योग
काठमाडौं। नेपालको औषधि बजार वार्षिक ८० अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था आइक्युभियाको सेप्टेम्बर २०२६ को प्रतिवेदनअनुसार नेपाली औषधि बजार वार्षिक १२ प्रतिशतले विस्तार भइरहेको छ।
बजार हिस्साका आधारमा उत्कृष्ट १० औषधि कम्पनीमध्ये ६ वटा नेपाली र चारवटा भारतीय कम्पनी छन्। शीर्ष पाँच स्थानमा नेपाली कम्पनीको वर्चस्व छ। क्वेस्ट फर्मास्युटिकल्स ४ अर्ब २० करोड रुपैयाँको वार्षिक कारोबारसहित पहिलो स्थानमा छ। नेपाल फर्मास्युटिकल्स ल्याबोरेटरी (एनपीएल) दोस्रो, देउराली–जनता तेस्रो, नेसनल हेल्थकेयर चौथो र आर्य फर्मा ल्याब पाँचौँ स्थानमा छन्।
प्रतिवेदनअनुसार संक्रमणविरुद्धका औषधि सर्वाधिक कारोबार हुने समूहमा छन्। यस समूहको वार्षिक कारोबार ११ अर्ब १७ करोड रुपैयाँ छ। मुटुरोगसम्बन्धी औषधिको कारोबार १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ। ग्यास्ट्रिक, श्वासप्रश्वास र मधुमेहका औषधि पनि बढी बिक्री हुने समूहमा छन्।
ब्रान्डका आधारमा ग्यास्ट्रिकको औषधि ‘प्यान्टा फास्ट–डी’ ६९ करोड रुपैयाँको कारोबारसहित पहिलो स्थानमा छ। त्यसपछि ‘क्लाभाम’, ‘फोराकोर्ट’ र ‘माइलोड–एल’ सर्वाधिक बिक्री हुने ब्रान्डमा परेका छन्।
आइक्युभियाको तथ्यांक खुद्रा औषधि पसलको अडिटमा आधारित भएकाले सरकारी खरिद तथा अस्पतालका ठूला टेन्डरको कारोबार यसमा समावेश छैन।



















प्रतिकृया दिनुहोस