औषधि विकासको पूर्व-क्लिनिकल नियामक संरचनाबारे नीति संवाद
काठमाडौं। नीति अनुसन्धान प्रतिष्ठानले औषधि विकासको पूर्व-क्लिनिकल (प्रि क्लिनिकल) परीक्षण तथा नियामक संरचनासम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिष्ठानले हालै संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (यूएस एफडीए) का वरिष्ठ औषधिविद् तथा नियामक वैज्ञानिक डा. दिनेश गौतमको प्रस्तुतीकरणसहित कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा डा. गौतमले ‘गैर-क्लिनिकलदेखि क्लिनिकलसम्मको नियामक मार्गः पूर्व-क्लिनिकल सुरक्षा औचित्यको निर्माण’ विषयमा प्रस्तुति दिएका थिए।
प्रस्तुतिमा औषधि विकासका क्रममा आवश्यक पर्ने गैर-क्लिनिकल अध्ययनका विभिन्न पक्षबारे जानकारी दिइएको थियो। यसअन्तर्गत फार्माकोडाइनामिक्स, सुरक्षा फार्माकोलोजी तथा फार्माकोकाइनेटिक्स र टक्सिकोकाइनेटिक्सका विषय समेटिएका थिए।
त्यसैगरी, औषधिको सुरक्षा मूल्याङ्कनका लागि गरिने सामान्य तथा दोहोरिने मात्राको विषाक्तता परीक्षण, आनुवंशिक विषाक्तता, क्यान्सरकारक प्रभाव, प्रजनन तथा विकासात्मक विषाक्तता र विशेष विषाक्तता अध्ययनबारे चर्चा गरिएको थियो।
कार्यक्रममा नवीन दृष्टिकोण विधि मानवमा पहिलोपटक औषधि परीक्षण गर्नुअघि आवश्यक पर्ने वैज्ञानिक प्रमाण तथा अध्ययनका निष्कर्ष मूल्याङ्कनका आधारबारे पनि प्रकाश पारिएको थियो।
डा. गौतमले अनुसन्धानात्मक नयाँ औषधि (आईएनडी) को समीक्षा प्रक्रिया, मानव समतुल्य मात्रा (एचईडी) गणना तथा नयाँ औषधि आवेदन (एनडिए) को नियामक समीक्षाबारे समेत जानकारी दिएका थिए।
प्रस्तुतिपछि आयोजित अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमा सहभागीहरूले अमेरिकी स्वास्थ्य प्रणाली, क्यान्सर उपचारका नवीन विधि तथा वैज्ञानिक अनुसन्धानका विविध विषयमा जिज्ञासा राखेका थिए।



















प्रतिकृया दिनुहोस