आँखाका थोपाको इतिहास : प्राचीन उपचार पद्धतिदेखि आधुनिक प्रविधिसम्म
आँखामा हालिने औषधिलाई आइड्रप्स अर्थात् आँखाका थोपा भनिन्छ। आँखामा विभिन्न प्रकारका रोग लाग्ने भएकाले रोगको प्रकृतिअनुसार फरक–फरक प्रकारका आँखाका थोपा प्रयोग गरिन्छन्। औषधि विज्ञानको एउटा विशिष्ट शाखाका रूपमा रहेको आँखाका थोपाको उत्पादन प्रक्रिया पनि अन्य औषधिको तुलनामा निकै संवेदनशील र विशेष प्रकृतिको हुन्छ। यसको उत्पादनका लागि उच्च गुणस्तरको पानी, शुद्ध कच्चा पदार्थ, उपयुक्त प्रविधि र दक्ष जनशक्तिको आवश्यकता पर्दछ। यी सबै पक्षमा विशेष वैज्ञानिक मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
यस लेखमा आँखाका रोगको उपचारमा प्रयोग हुने आँखाका थोपा विश्वमा कहिलेदेखि प्रचलनमा आए र समयक्रमसँगै तिनको विकास कसरी हुँदै गयो भन्ने विषयमा चर्चा गरिएको छ।
आँखामा औषधि हाल्ने अर्थात् आँखाका थोपाको इतिहास हजारौँ वर्ष पुरानो छ। मानव सभ्यताको विकाससँगै आँखाको उपचारका लागि विभिन्न प्राकृतिक तत्वको प्रयोग सुरु भएको पाइन्छ। आज हामीले सजिलै सानो प्लास्टिकको बोतलमा पाउने जीवाणुरहित आँखाका थोपाको पछाडि हजारौँ वर्षको मानव अनुभव, प्राचीन सभ्यताका चिकित्सा प्रयोग र आधुनिक औषधि विज्ञानको लामो इतिहास जोडिएको छ। प्राचीन मिश्र, ग्रीस, रोम, भारत र चीनका चिकित्सा पद्धतिबाट सुरु भएको यो यात्रा आज अत्याधुनिक न्यानो प्रविधि र परिरक्षकविहीन प्रणालीसम्म आइपुगेको छ।
प्राचीनकाल : ईसापूर्वको युग
प्राचीन इजिप्टमा करिब १५५० ईसापूर्व लेखिएको प्रसिद्ध चिकित्सा ग्रन्थ ‘एबर्स पपाइरस’मा आँखाको उपचारका लागि प्रयोग गरिने विभिन्न तरल पदार्थबारे उल्लेख गरिएको छ। त्यसबेला जनावरबाट प्राप्त रस तथा विभिन्न जडीबुटीका रस मिसाएर तरल औषधि तयार पारिन्थ्यो र आँखाको उपचारमा प्रयोग गरिन्थ्यो।
त्यसैगरी, गाजलको प्रयोग पनि आँखालाई घाम र संक्रमणबाट जोगाउने उद्देश्यले गरिने गरेको ऐतिहासिक विवरण पाइन्छ। यद्यपि, प्राचीन समयमा प्रयोग गरिएका त्यस्ता तरल पदार्थ र गाजललाई आजको चिकित्सकीय मापदण्डअनुसार आँखाका लागि सुरक्षित मानिँदैन।
आयुर्वेद र प्राचीन भारतवर्ष
प्राचीन भारतीय चिकित्सा पद्धति आयुर्वेदमा पनि आँखाको उपचारलाई विशेष महत्त्व दिइएको पाइन्छ। करिब ६०० ईसापूर्वको समयमा विकसित आयुर्वेदिक ग्रन्थ सुश्रुत संहितामा आँखाका विभिन्न रोग र तिनको उपचार विधिबारे विस्तृत वर्णन गरिएको छ।
आयुर्वेदमा आँखाको सरसफाइ र उपचारका लागि अञ्जन, आश्च्योतन, गुलाबजल, मह, घिउ तथा त्रिफलाको रस प्रयोग गर्ने विधिबारे उल्लेख गरिएको छ। यीमध्ये आश्च्योतन विधि आँखामा औषधियुक्त तरल पदार्थका थोपा हालेर उपचार गर्ने परम्परागत विधि हो।
अहिले पनि बजारमा विभिन्न आयुर्वेदिक आँखाका थोपा उपलब्ध छन्। तर, यस्ता औषधिको प्रयोग पनि सम्बन्धित चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ।
प्राचीन ग्रीस र रोम
प्राचीन ग्रीसमा हिप्पोक्रेट्सलगायतका चिकित्सकहरूले आँखाको जलन कम गर्न दूध, अण्डाको सेतो भाग, मदिरा र विभिन्न जडीबुटीका अर्क मिसाएर तरल औषधि तयार पार्ने गरेको पाइन्छ।
त्यसैगरी, रोमन चिकित्सकहरूले औषधि राख्न र पहिचान गर्न विशेष प्रकारका साना ढुङ्गाका छाप प्रयोग गर्थे। ती छापमा औषधिको नाम र चिकित्सकको परिचयसमेत लेखिएको हुन्थ्यो। औषधिको पहिचान र वितरणलाई व्यवस्थित बनाउने दृष्टिले यो अभ्यास त्यतिबेलाका लागि निकै नवीन मान्न सकिन्छ। आजको औषधि पहिचान तथा वितरण प्रणालीको प्रारम्भिक स्वरूपका रूपमा यसलाई लिन सकिन्छ।
मध्यकालीन युग र इस्लामिक स्वर्णयुगको योगदान
ईसाको आठौँदेखि तेह्रौँ शताब्दीसम्मको अवधिलाई इस्लामिक स्वर्णयुगका रूपमा चिनिन्छ। यस अवधिमा इस्लामिक जगत्का वैज्ञानिक तथा चिकित्सकहरूले नेत्र चिकित्साको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए।
प्रसिद्ध विद्वान् हुनैन इब्न इसहाकले आँखाको बनावट, कार्यप्रणाली र विभिन्न रोगबारे व्यवस्थित पुस्तक लेखेका थिए।
त्यस्तै, इब्न सिनाले आफ्नो विश्वप्रसिद्ध ग्रन्थ ‘द क्यानन अफ मेडिसिन’मा आँखामा प्रयोग गरिने तरल औषधिको मात्रा, तापक्रम र तयारी विधिबारे विस्तृत रूपमा उल्लेख गरेका छन्। यस युगमा औषधि तयार पार्ने, बाफबाट शुद्ध पानी निकाल्ने तथा काँचका साना भाँडामा औषधि सुरक्षित राख्ने प्रविधिको विकास भएको थियो।
यी उपलब्धिले आँखाको उपचारमा प्रयोग हुने औषधिलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन महत्त्वपूर्ण भूमिका खेले।
१९औँ शताब्दी : आधुनिक रसायनशास्त्र र सक्रिय औषधीय तत्वको खोज
१९औँ शताब्दीमा आधुनिक रसायनशास्त्रको विकाससँगै विभिन्न वनस्पतिबाट औषधीय प्रभाव भएका सक्रिय तत्व अर्थात् एपीआई (सक्रिय औषधीय तत्व) छुट्याउने काम सुरु भयो। यसले आँखाका थोपाको विकासमा नयाँ मोड ल्यायो।
एट्रोपिनको खोज (सन् १८३१)
सन् १८३१ मा जर्मन रसायनशास्त्री हेनरिक मीनले बेलाडोना नामक वनस्पतिबाट एट्रोपिन छुट्याएका थिए। आँखाको नानी ठूलो पार्न तथा आँखाको भित्री भागको परीक्षण गर्न एट्रोपिनयुक्त थोपाको प्रयोग सुरु भयो। यसले नेत्र परीक्षण र उपचारलाई थप सहज बनायो।
कोकेनको प्रयोग (सन् १८८४)
सन् १८८४ मा अस्ट्रियन नेत्र विशेषज्ञ कार्ल कोलरले कोकेनको घोल आँखामा प्रयोग गर्दा आँखाको सतहलाई केही समयका लागि संवेदनाहीन बनाउन सकिने तथ्य पत्ता लगाए। यो चिकित्सा इतिहासको महत्त्वपूर्ण उपलब्धि थियो। यसले आँखाको शल्यक्रिया गर्दा हुने पीडा कम गर्न र स्थानीय बेहोसीको माध्यमबाट शल्यक्रिया गर्न सम्भव बनायो।
सिल्भर नाइट्रेटको प्रयोग (सन् १८८१)
सन् १८८१ मा जर्मन चिकित्सक कार्ल क्रेडेले नवजात शिशुमा हुने गम्भीर आँखाको संक्रमण रोक्न जन्मनेबित्तिकै आँखामा सिल्भर नाइट्रेटको थोपा हाल्ने विधि सुरु गरे। विशेषगरी जन्मका क्रममा आमाबाट शिशुमा सर्न सक्ने संक्रमणका कारण हुने आँखाको गम्भीर समस्या रोक्न यो विधि प्रभावकारी साबित भयो। यसले विश्वभर लाखौँ बालबालिकालाई संक्रमणका कारण दृष्टि गुमाउने जोखिमबाट जोगाउन महत्त्वपूर्ण योगदान पुर्यायो।
२०औँ शताब्दी: जीवाणुरहित प्रविधि, एन्टिबायोटिक र प्लास्टिक ड्रपरको आविष्कार
२०औँ शताब्दीको सुरुवातसम्म आँखाका थोपा मुख्यतः काँचका साना सिसीमा राखेर उपलब्ध गराइन्थे। औषधि आँखामा हाल्न छुट्टै रबरको बिर्को वा काँचको नली भएको ड्रपर प्रयोग गरिन्थ्यो। तर, पटक–पटक प्रयोग गर्दा औषधि हावा, हात र बाहिरी वातावरणको सम्पर्कमा आउने भएकाले ब्याक्टेरिया तथा ढुसीबाट दूषित हुने जोखिम रहन्थ्यो। यसले आँखामा थप संक्रमण निम्त्याउन सक्ने समस्या थियो।
जीवाणुरहितकरण र परिरक्षकको प्रयोग
सन् १९४० को दशकपछि औषधि उद्योगमा आँखाका थोपा पूर्ण रूपमा जीवाणुरहित हुनुपर्ने मापदण्डलाई विशेष महत्त्व दिन थालियो। औषधिको बोतल खोलेपछि पनि त्यसमा ब्याक्टेरिया तथा अन्य सूक्ष्मजीवको वृद्धि नहोस् भन्ने उद्देश्यले बेन्जाल्कोनियम क्लोराइडजस्ता परिरक्षक पदार्थ मिसाउन थालियो। यसले आँखाका थोपाको सुरक्षा र गुणस्तर कायम राख्न सहयोग पुर्यायो।
एन्टिबायोटिक र स्टेरोइडयुक्त थोपाको विकास
पेनिसिलिन, क्लोरामफेनिकोल, टेरामाइसिन तथा पछि फ्लोरोक्विनोलोन समूहका एन्टिबायोटिक औषधिको विकाससँगै आँखाको संक्रमण उपचारमा ठूलो परिवर्तन आयो। यी औषधिले आँखामा हुने विभिन्न जीवाणुजन्य संक्रमणको उपचारलाई प्रभावकारी बनाए।
त्यसैगरी, स्टेरोइडयुक्त आँखाका थोपाको विकासले आँखामा हुने सूजन तथा विभिन्न प्रकारका जलन नियन्त्रण गर्न नयाँ सम्भावना खोल्यो। यद्यपि, यस्ता औषधिको प्रयोग चिकित्सकको निगरानीमा मात्र गर्नुपर्छ।
प्लास्टिकको बोतल र सन् १९५० को दशक
सन् १९५० को दशकमा नरम प्लास्टिकबाट बनेका थिचेर प्रयोग गर्न मिल्ने बोतलको विकास भयो। यसअघि प्रयोग हुने काँचको सिसी र छुट्टै ड्रपरको सट्टा प्लास्टिकको बोतल थिचेर सिधै आँखामा थोपा हाल्न सकिने भयो।
यस प्रविधिले औषधिको प्रयोगलाई सहज बनाउनुका साथै बाहिरी वातावरणबाट औषधि दूषित हुने जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।
जलबिन्दुको उपचारमा क्रान्ति
जलबिन्दु अर्थात् ग्लुकोमाको उपचारमा पनि आँखाका थोपाको विकासले ठूलो परिवर्तन ल्यायो। सन् १९७० को दशकमा टिमोलोल र सन् १९९० को दशकमा लाटानोप्रोस्टजस्ता औषधिको प्रयोग सुरु भएपछि आँखाभित्रको चाप नियन्त्रण गर्न सहज भयो। यी औषधिले जलबिन्दुका कारण दृष्टि गुम्ने जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
२१औँ शताब्दी : आधुनिक प्रविधि र भविष्यको दिशा
२१औँ शताब्दीमा आँखाका थोपाको विकास अझ आधुनिक र प्रविधिमैत्री बनेको छ। अहिले आँखाका थोपा संक्रमण र दुखाइको उपचारमा मात्र सीमित छैनन्। आँखाको सुख्खापन, बुढ्यौलीसँग सम्बन्धित समस्या तथा आँखाका विभिन्न दीर्घकालीन रोगको उपचारमा समेत यसको प्रयोग बढ्दै गएको छ।
परिरक्षकविहीन प्रविधि
लामो समयसम्म आँखाका थोपा प्रयोग गर्नुपर्ने बिरामीमा परिरक्षक पदार्थका कारण आँखाको सतहमा असर पर्न सक्ने भएकाले परिरक्षकविहीन औषधिको विकासमा जोड दिइएको छ।
यस क्रममा ब्लो–फिल–सिल प्रविधिमा आधारित एकपटक प्रयोग गरेर फाल्न मिल्ने साना भायल तथा विशेष भल्भ भएका बहुपटक प्रयोग गर्न मिल्ने बोतलको विकास भएको छ। कोमेड प्रणालीजस्ता प्रविधिले औषधिलाई बाहिरी वातावरणबाट दूषित हुन नदिई परिरक्षकविना सुरक्षित रूपमा प्रयोग गर्न सहयोग पुर्याउँछन्।
न्यानो प्रविधि र लामो समयसम्म प्रभाव दिने प्रणाली
आँखामा हालेको औषधि आँसुका कारण छिट्टै बाहिर बगेर जाने समस्या आँखाका थोपाको प्रभावकारितासँग जोडिएको प्रमुख चुनौती हो। यसलाई समाधान गर्न वैज्ञानिकहरूले न्यानो कण र जेलमा आधारित औषधि प्रणालीको विकास गरिरहेका छन्।
यस्ता प्रविधिले औषधिलाई आँखाको सतहमा लामो समयसम्म राख्न र औषधिको प्रभावलाई निरन्तरता दिन सहयोग पुर्याउन सक्छन्। यसले भविष्यमा आँखाका औषधिको प्रभावकारिता अझ बढाउने अपेक्षा गरिएको छ।
चश्माको विकल्पका रूपमा आँखाका थोपा
उमेर बढ्दै जाँदा नजिकका अक्षर पढ्न कठिन हुने समस्यालाई प्रेस्बायोपिया भनिन्छ। यसको उपचारका लागि पिलोकार्पिनमा आधारित आधुनिक आँखाका थोपा पनि हालका वर्षहरूमा बजारमा उपलब्ध भएका छन्। यस्ता औषधिले केही व्यक्तिमा नजिकको दृष्टि सुधार गर्न सहयोग पुर्याउन सक्छन्। यसले आँखाका थोपा भविष्यमा चश्माको विकल्पका रूपमा समेत प्रयोग हुन सक्ने सम्भावना देखाएको छ।
निष्कर्ष
प्राचीन मिश्रमा तामा र महको मिश्रण तथा आयुर्वेदको आश्च्योतन विधिबाट सुरु भएको आँखाका थोपाको इतिहास मानव सभ्यताको निरन्तर वैज्ञानिक खोज र विकासको अनुपम उदाहरण हो।
१९औँ शताब्दीमा सक्रिय औषधीय तत्व र स्थानीय बेहोसीसम्बन्धी उपलब्धि, २०औँ शताब्दीमा जीवाणुरहित प्रविधि, एन्टिबायोटिक र प्लास्टिक ड्रपरको विकास तथा २१औँ शताब्दीमा न्यानो प्रविधि र परिरक्षकविहीन प्रणालीको सुरुवातले आँखाको उपचारलाई थप सुरक्षित, सहज र प्रभावकारी बनाएको छ।
आज आँखाका थोपा विश्व स्वास्थ्य प्रणालीको अपरिहार्य औषधीय स्वरूप बनेका छन्। आँखाका विभिन्न रोगको उपचार, संक्रमण नियन्त्रण, दृष्टि संरक्षण तथा जीवनस्तर सुधारमा यिनले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। हजारौँ वर्षको अनुभव र निरन्तर वैज्ञानिक अनुसन्धानको परिणामस्वरूप विकसित आँखाका थोपाको भविष्य अझ प्रभावकारी, सुरक्षित र प्रविधिमैत्री हुने अपेक्षा गर्न सकिन्छ।






















प्रतिकृया दिनुहोस