• २ कार्तिक २०८३, आइतबार

दसैँमा स्वास्थ्य सेवा नियमित राख्न अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाको अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न सङ्घीय सरकारी अस्पताल र प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा अवरुद्ध हुन नदिन पर्याप्त स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्था गर्न भनेको छ। यसका लागि ड्युटी रोस्टर तयार गरी सेवा प्रवाह नियमित राख्न निर्देशन दिइएको हो।

त्यस्तै, आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्न मन्त्रालयले आग्रह गरेको छ। दसैँ बिदाका नाममा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

सेवा प्रवाहमा देखिने समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। मन्त्रालयले दसैँ बिदाभर नागरिकलाई सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशनको कार्यान्वयन तथा अनुगमन गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस