समयअनुकूल औषधि ऐन परिमार्जन गर्नुपर्छः डा. तोसिमा कार्की
काठमाडौं। प्रतिनिधि सभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको औषधि क्षेत्रको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएकी छन्।
उनले समयअनुकूल हुने गरी औषधि ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिएकी हुन्।
नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) केन्द्रीय समितिको १०औँ वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै डा. कार्कीले औषधि क्षेत्रका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल आवश्यक रहेको बताइन्।
‘२०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन। यस विषयमा सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।
उनले औषधिको गुणस्तर र सहज उपलब्धता सुनिश्चित गर्न सप्लाइ चेन प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने बताइन्। कतिपय ठाउँमा औषधि थुप्रिने र कतिपय ठाउँमा अभाव हुने अवस्था रहेको भन्दै आवश्यक स्थानमा समयमै औषधि पुर्याउने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो।
डा. कार्कीले औषधिको सप्लाइ चेनमा कहाँ–कहाँ सुधार आवश्यक छ भन्ने विषयमा सरोकारवालासँग छलफल गर्न आफू तयार रहेको बताइन्। आवश्यक परे त्यसका लागि छलफल आयोजना गर्ने र विधेयकका रूपमा अघि बढाउनसमेत पहल गर्ने उनको भनाइ थियो।
उनले मागभन्दा बढी औषधि भण्डारण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने तथा छिट्टै म्याद सकिने औषधिको व्यवस्थापनमा पनि समयमै ध्यान दिनुपर्ने बताइन्। यसमा औषधि व्यवस्था विभागले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
संघका अध्यक्ष गणेश नेपालले औषधि व्यवसायीका समस्या पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको बताए। नयाँ नीति नबनेसम्म औषधि बजारको अवस्था सहज नहुने भन्दै उनले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए। बिरामीलाई सस्तो मूल्यमा गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
संघका संस्थापक अध्यक्ष शिवराज बाँस्कोटाले नयाँ औषधि नीति तथा ऐन बनाउँदा भविष्यमा आउने समस्यालाई समेत ध्यान दिनुपर्ने बताए। औषधि ऐनमा थोक व्यवसायीको भूमिका स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने माग गर्दै उनले भने, ‘औषधि ऐन बन्दा हाम्रो भूमिका के हो, स्पष्ट गरिनुपर्छ। ३५ वर्ष पुरानो औषधि ऐनमा प्रश्न उठेको छ।’
एकै व्यवसायीले विभिन्न स्थानमा व्यवसाय दर्ता गर्नुपर्ने र विभिन्न ठाउँमा कर तिर्नुपर्ने अवस्था रहेको भन्दै उनले व्यवसायीलाई सहज हुने व्यवस्था बनाउन आग्रह गरे। उनले औषधि व्यवस्था विभागको संरचना पनि सुदृढ गर्नुपर्ने धारणा राखे। विभागमा विशिष्ट श्रेणीको सचिवको नेतृत्व रहने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।
नेपाल औषधी उत्पादक संघका केन्द्रिय सदस्य शरद चन्द्र ओझाले नेपालको औषधी तथा उपचारको शुरुवात, वर्तमान अवस्था तथा सुधारको लागी के गर्ने सकिन्छ भन्ने विषयमा प्रस्तुती समेत दिएका थिए।
कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघका महासचिव मधु पौडेल, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका अध्यक्ष रितेश रिमाल, पीडानका लुम्बिनी प्रदेश उपाध्यक्ष तुफानबाबु श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपालको औषधि क्षेत्रको अवस्था र सुधारका विषयमा धारणा राखेका थिए।









..jpeg)









प्रतिकृया दिनुहोस