मेडिकल ल्याबका लागि स्वदेशी सफ्टवेयर ‘निदान्यो’ सार्वजनिक
काठमाडौं। इन्फोबाइट्स नेपालले नेपाली मेडिकल प्रयोगशालाका लागि विकास गरेको ‘अल इन–वान’ प्रयोगशाला व्यवस्थापन प्रणाली ‘निदान्यो’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ‘निदान्यो’ हाल काठमाडौंका १० भन्दा बढी ल्याब, पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा सञ्चालनमा आइसकेको छ।
‘निदान्यो’ ल्याबोरेटरी इन्फर्मेसन एन्ड अपरेसन्स म्यानेजमेन्ट सिस्टम (एलआईओएमएस) हो। यसले बिरामी दर्ता, नमुना ट्र्याकिङ, परीक्षण नतिजा प्रविष्टि, रिपोर्ट निर्माण, बिलिङ तथा अनलाइन रिपोर्ट वितरणलगायतका काम एउटै प्रणालीमार्फत व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ। साना ल्याबदेखि ठूला प्रयोगशालासम्ममा जडान गर्न सकिने गरी प्रणाली विकास गरिएको बताइएको छ।
सफ्टवेयरको प्रयोगले प्रयोगशाला व्यवस्थापन टोली र प्राविधिक जनशक्तिसँगै बिरामी तथा अन्य प्रयोगकर्तालाई समेत सहज हुने कम्पनीको दाबी छ। नमुना दिँदा नै बिरामीले क्यूआर कोडसहितको बिल प्राप्त गर्ने र रिपोर्ट तयार भएपछि सोही क्यूआर कोड स्क्यान गरी मोबाइलबाट रिपोर्ट हेर्न सक्ने व्यवस्था रहेको छ।
इन्फोबाइट्स नेपालका प्रोडक्ट म्यानेजर विवेक न्यौपानेका अनुसार हाल सञ्चालनमा रहेका प्रयोगशाला, पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरबाट ‘निदान्यो’प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
कम्पनीका प्रमुख कार्यकारी राजेश पाण्डेका अनुसार नेपाली प्रयोगशालाको कार्यशैली र आवश्यकता बुझेर ‘निदान्यो’ विकास गरिएको हो। उनका अनुसार विदेशी सफ्टवेयरको तुलनामा यो कम लागतमा नेपाली अभ्यासअनुकूल प्रयोग गर्न सकिने प्रणाली हो।

इन्फोबाइट्स नेपालका सुगम दाहालले स्वास्थ्य क्षेत्रको विकास उपकरणमा मात्र सीमित नभई स्वदेशमै विकास भएका प्रविधि र सेवाको प्रयोग तथा कार्यान्वयनसँग पनि जोडिनुपर्ने बताए। उनका अनुसार स्वदेशी प्रविधिको प्रयोगले नेपालको सूचना प्रविधि तथा सफ्टवेयर क्षेत्रको विकासमा योगदान पुर्याउँछ।
स्वास्थ्य, फार्मेसी तथा व्यवसाय व्यवस्थापनसम्बन्धी विभिन्न सफ्टवेयर विकास गर्दै आएको इन्फोबाइट्स नेपालले आगामी दिनमा ‘क्लिनिक म्यानेजमेन्ट सिस्टम’ लगायत थप डिजिटल हेल्थ प्रणाली विकास गर्ने कम्पनीका डेभलपर कपिल अर्यालले बताए।









..jpeg)









प्रतिकृया दिनुहोस