• ४ असोज २०८३, आइतबार

औषधि पसल सञ्चालनमा कडाइ, लाइसेन्स भाडामा नदिन व्यवसायीलाई आग्रह

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले दर्ता तथा अनुमति नलिई औषधि पसल सञ्चालन नगर्न तथा फर्मासिष्ट र फार्मेसी सहायकको लाइसेन्स अन्य व्यक्तिलाई प्रयोग गर्न नदिन व्यवसायीलाई आग्रह गरेको छ।

औषधि व्यवस्था विभागको अनुगमन तथा निरीक्षणलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा विभागका अनुगमन तथा निरीक्षण महाशाखा प्रमुख शम्भु शाहसहितका अधिकारी र संघका पदाधिकारीबीच भएको छलफलपछि संघले व्यवसायीलाई यस्तो आग्रह गरेको हो।

संघका अनुसार विभागमा बिना दर्ता तथा अनुमति औषधि पसल सञ्चालन गर्ने र फर्मासिष्ट वा फार्मेसी सहायकले आफ्नो नाममा रहेको व्यावसायिक प्रमाणपत्र अन्य व्यक्तिलाई प्रयोग गर्न दिने सम्बन्धमा गुनासा प्राप्त भएका छन्।

संघले अनुगमन छल्ने उद्देश्यले बिहान, बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल सञ्चालन गर्ने तथा नियमित कारोबार लुकाउने कार्य नगर्न पनि आग्रह गरेको छ। फर्मासिष्ट तथा फार्मेसी सहायकले आफ्नो व्यावसायिक प्रमाणपत्र भाडामा दिन वा आफू उपस्थित नभई आफ्नो नाममा फार्मेसी सञ्चालन गर्न दिन नहुने संघले जनाएको छ।

औषधि ऐन २०३५, औषधि बिक्री वितरण संहिता २०८० तथा प्रचलित कानूनको पालना गर्दै औषधि बिक्री गर्न संघले आग्रह गरेको छ। विशेषगरी चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि, लागुऔषध तथा प्रतिजैविक औषधिको अनधिकृत बिक्री रोक्न व्यवसायीलाई सचेत गराइएको छ।

थोक व्यवसायीलाई समेत वैधानिक दर्ता तथा अनुमति नभएका औषधि पसलमा औषधि आपूर्ति नगर्न आग्रह गरिएको छ। गैरकानुनी कारोबारमा संलग्न व्यवसायीमाथि प्रचलित कानूनअनुसार औषधि जफत, पसल बन्द वा सिलबन्दीसहित कारबाही हुन सक्ने संघले जनाएको छ।

 

प्रतिकृया दिनुहोस