नुवाकोटमा हैजाविरुद्धको खोप, ५० हजारभन्दा बढीले सेवन गरे
नुवाकोट । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न नुवाकोटमा सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभियान सञ्चालन गरिएको हो।
जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डा. अञ्जु कार्कीका अनुसार विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप दिने लक्ष्य राखिएको छ। एक वर्ष उमेर पूरा भएका सबैलाई खोप दिने व्यवस्था गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा प्रयोग भइरहेको पानीमा ई–कोलाई (दिसाजन्य प्रदूषणको सूचक जीवाणु) भेटिएपछि पानीजन्य रोगको जोखिम बढेको कार्यालयले जनाएको छ। विस्थापितलाई होल्डिङ सेन्टरमा राखिएकाले खानेपानी र सरसफाइको अवस्था थप चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीले बताएका छन्।
डा. कार्कीले खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ। झाडापखालालगायतका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन पनि उहाँले आग्रह गर्नुभयो।
विदुर नगरपालिकामा मात्रै ५९ हजार २५४ जनालाई खोप दिने लक्ष्य रहेकामा हालसम्म ४० हजार २९१ जनाले खोप सेवन गरेका छन्। बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरमा खोप निःशुल्क उपलब्ध गराइएको छ। सार्वजनिक बिदाका दिनसमेत खोप लगाउने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।









..jpeg)









प्रतिकृया दिनुहोस