• ४ असोज २०८३, आइतबार

वर्षमा दुई पटक दिइने ‘ल्यान्कापाभीर’ले बदल्दैछ एचआईभी रोकथामको स्वरूप

एचआईभी रोकथाममा नयाँ विकल्प

एचआईभी संक्रमणको रोकथाममा वर्षमा दुई पटक मात्र प्रयोग गर्नुपर्ने ‘ल्यान्कापाभीर’ नयाँ विकल्पका रूपमा आएको छ। जीलिड साइन्सले निर्माण गरेको ‘ल्यान्कापाभीर’ अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले १८ जुन २०२५ मा एचआईभी संक्रमण रोक्ने पूर्व–सम्पर्क रोकथाम अर्थात् ‘प्रेप’का रूपमा स्वीकृति दिएको हो। यसको ब्रान्ड नाम ‘येज्टुगो’ हो भने ‘सनलेन्का’ पनि ल्यान्कापाभीरकै ब्रान्ड नाम हो।

दैनिक रूपमा चक्की सेवन गर्नुपर्ने विकल्पको तुलनामा ल्यान्कापाभीर छ महिनामा एक पटक अर्थात् वर्षमा दुई पटक सुईका रूपमा प्रयोग गर्नुपर्ने भएकाले फरक विकल्प प्रदान गर्छ। दैनिक औषधि सेवनमा नियमितता कायम गर्न कठिन हुने व्यक्तिका लागि यसले एचआईभी रोकथामलाई सहज बनाउन सक्ने सम्भावना देखिएको छ।

कसरी काम गर्छ ?

ल्यान्कापाभीर एचआईभी भाइरसको ‘क्यापसिड’ अर्थात् भाइरसको आनुवंशिक सामग्रीलाई घेरेर राख्ने संरचनालाई लक्षित गर्ने प्रतिजीवाणुरोधी औषधि हो। यसले भाइरसको जीवनचक्रका विभिन्न चरणमा हस्तक्षेप गर्छ। परिणामस्वरूप भाइरसले शरीरभित्र प्रभावकारी रूपमा आफ्नो संख्या बढाउन र संक्रमण स्थापित गर्न सक्दैन।

कसका लागि उपयोगी ?

एचआईभी संक्रमण नभएका तर संक्रमणको उच्च जोखिममा रहेका वयस्क तथा कम्तीमा ३५ किलोग्राम तौल भएका किशोर–किशोरीका लागि यो प्रयोग गर्न सकिन्छ।

ल्यान्कापाभीर छालामुनि छ महिनामा एक पटक अर्थात् २६ हप्तामा एक पटक दिइन्छ। प्रयोग सुरु गर्दा चिकित्सकको निर्देशनअनुसार पहिलो पटक मुखबाट खाने औषधि र सुई दुवै प्रयोग गर्नुपर्ने हुन सक्छ। त्यसपछि निर्धारित समयअनुसार सुई मात्र प्रयोग गरिन्छ।

तर यसलाई आफूखुसी प्रयोग गर्ने औषधिका रूपमा बुझ्नु हुँदैन। ‘प्रेप’ सुरु गर्नुअघि व्यक्तिमा एचआईभी संक्रमण नरहेको परीक्षणबाट सुनिश्चित गर्नुपर्छ। स्वास्थ्यकर्मीको मूल्याङ्कन र नियमित परीक्षण पनि आवश्यक हुन्छ

कहाँ उपलब्ध छ ?

एफडीएले १८ जुन २०२५ मा ल्यान्कापाभीरलाई एचआईभी रोकथामका लागि स्वीकृति दिएपछि यसको प्रयोग सुरुमा संयुक्त राज्य अमेरिकामा भएको हो। अफ्रिकाका उच्च जोखिम भएका केही देशमा पनि यसको वितरण चरणबद्ध रूपमा अघि बढिरहेको छ।

नेपाललगायत मध्यम तथा कम आय भएका देशमा यसलाई सर्वसुलभ बनाउन जेनेरिक उत्पादनसम्बन्धी सम्झौता तथा पहलहरू अघि बढाइएका छन्।

एचआईभीविरुद्धको खोप होइन

ल्यान्कापाभीरलाई एचआईभीविरुद्धको खोप भन्नु वैज्ञानिक रूपमा सही हुँदैन। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई रोगविरुद्ध प्रतिक्रिया दिन तयार पार्छ। ल्यान्कापाभीर भने शरीरमा प्रत्यक्ष रूपमा एचआईभी भाइरसको क्यापसिडलाई लक्षित गर्ने प्रतिजीवाणुरोधी औषधि हो।

त्यसैले यसलाई वर्षमा दुई पटक दिइने ‘प्रेप’ औषधि वा लामो समयसम्म प्रभाव रहने सुईमार्फत दिइने ‘प्रेप’का रूपमा बुझ्नुपर्छ।

के–के सावधानी आवश्यक छ ?

ल्यान्कापाभीरले एचआईभी संक्रमणको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर यसले अन्य यौनजन्य संक्रमणबाट सुरक्षा प्रदान गर्दैन। त्यसैले आवश्यक अवस्थामा कन्डमको प्रयोग, नियमित एचआईभी तथा यौनजन्य संक्रमणको परीक्षण, यौन स्वास्थ्यसम्बन्धी परामर्श र अन्य रोकथामका उपायलाई निरन्तरता दिनुपर्छ।

डोज छुटेमा के गर्ने ?

यस औषधिको प्रभावकारिताका लागि निर्धारित समयमा सुई लगाउनु महत्वपूर्ण हुन्छ। डोज लिन ढिलाइ भएमा औषधिको प्रभावकारिता घट्न सक्छ र एचआईभी संक्रमणको जोखिम बढ्न सक्छ।

त्यसैले निर्धारित मिति नजिकिँदा स्वास्थ्य संस्थासँग सम्पर्क गर्नुपर्छ। कुनै कारणले डोज छुट्ने अवस्था आएमा आफूखुसी निर्णय नगरी स्वास्थ्यकर्मीको निर्देशनअनुसार अर्को कदम चाल्नुपर्छ।

एचआईभी रोकथामको भविष्य नयाँ औषधिको विकासमा मात्र निर्भर हुँदैन। प्रभावकारी रोकथामका विकल्प आवश्यक पर्ने प्रत्येक व्यक्तिसम्म सुरक्षित, सुलभ र लाञ्छनारहित रूपमा पुर्‍याउन सक्ने स्वास्थ्य प्रणाली पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस