एआईको दुरुपयोग, जलवायु परिवर्तन र मोटोपना मानव अस्तित्वकै चुनौती
काठमाडौं। आणविक युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग, जलवायु परिवर्तन, मोटोपना र मानसिक स्वास्थ्य समस्यासहित १७ वटा जोखिमले यस शताब्दीको अन्त्यसम्म मानव स्वास्थ्य र अस्तित्वमा गम्भीर संकट निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्।
प्रशिद्ध चिकित्सा जर्नल द ल्यान्सेट मा १० अक्टोबर २०२६ मा प्रकाशित ‘द ल्यान्सेट कमिसन अन २१ सेन्चुरी ग्लोबल थ्रेट्स टु हेल्थ’ शीर्षकको प्रतिवेदन ३५ विज्ञ सम्मिलित आयोगले तयार पारेको हो। आयोगको सहअध्यक्षता वासिङ्टन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनका निर्देशक प्रा. क्रिस्टोफर जे. एल. मरे र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकी पूर्वकार्यकारी निर्देशक डा. नतालिया केनेमले गरेका छन्।
प्रतिवेदनले आणविक द्वन्द्व र एआईको दुर्भावनापूर्ण प्रयोगलाई मानव अस्तित्व नै समाप्त हुन सक्ने सम्भावनासँग जोडेको छ। एआईको दुरुपयोगबाट जैविक हतियार विकास तथा प्रयोग हुन सक्ने जोखिमप्रति पनि अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। यद्यपि एआईबाट विश्वव्यापी रूपमा हुन सक्ने विनाशको अनुमान प्रत्यक्ष ऐतिहासिक तथ्याङ्कमा आधारित नभई सैद्धान्तिक रहेको उनीहरूले स्पष्ट पारेका छन्।
प्रतिवेदनअनुसार सन् २०५० सम्म विश्वका करिब ६० प्रतिशत वयस्क र एकतिहाइ बालबालिकामा बढी तौल वा मोटोपनाको समस्या हुन सक्ने अनुमान छ। मोटोपना, उच्च रक्तचाप, धूमपान र मानसिक स्वास्थ्य समस्याले पनि दीर्घकालीन रूपमा ठूलो स्वास्थ्य भार थप्नेछन्।
अन्य प्रमुख जोखिममा वायु प्रदूषण, रोगाणुमा औषधि प्रतिरोध क्षमता बढ्नु, प्राकृतिक महामारी, बाल कुपोषण, परम्परागत द्वन्द्व, आर्थिक असमानता र शिक्षाको न्यून पहुँच छन्। स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता घट्नु र अत्यधिक मदिरा सेवन पनि जोखिमका रूपमा समेटिएका छन्।
प्रतिवेदनले यी जोखिम समयमै नियन्त्रण गर्न सके ठूलो क्षति रोक्न सकिने जनाएको छ। त्यसका लागि सरकारहरूले जनस्वास्थ्य प्रणाली सुदृढ बनाउने, रोकथाममा लगानी बढाउने, उदीयमान जोखिमको निगरानी गर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने कदम चाल्नुपर्ने अनुसन्धानकर्ताहरूको सुझाव छ।
उनीहरूका अनुसार संकट उत्पन्न भएपछि प्रतिक्रिया दिनुभन्दा जोखिमको पूर्वानुमान गरी समयमै तयारी गर्नु प्रभावकारी हुन्छ। सामाजिक विश्वास, जवाफदेहिता र असमानता न्यूनीकरण पनि भविष्यको स्वास्थ्य तथा मानव अस्तित्व जोगाउन महत्त्वपूर्ण छन्।





..jpeg)










..jpeg)

प्रतिकृया दिनुहोस