संकटको समयमा एभरेस्ट अस्पतालको भूमिका
अस्पतालमा काम गर्न थालेदेखि अहिले सम्म आइ पुग्दा मैले नजिकबाट महसुस गरेको एउटा कुरा मानिसलाई अस्पतालको आवश्यकता सबैभन्दा बढी त्यतिबेला पर्छ, जतिबेला उसको परिस्थिति जीवन र मरणको दोसाधबाट गुज्रिरहेको हुन्छ। सामान्य अवस्थामा पनि अस्पतालको सेवा महत्वपूर्ण हुन्छ, तर संकट, विपद् वा आन्दोलनका बेला यसको जिम्मेवारी अझ ठूलो र बोझिलो हुन्छ।
पछिल्लो समय देशमा विभिन्न आन्दोलन र सामाजिक घटनाहरू भए विशेषगरी जेन-जी आन्दोलनका क्रममा धेरै युवा तथा सर्वसाधारण घाइते भएर उपचारका लागि अस्पताल पुग्नुपर्ने अवस्था आयो। अस्पतालको नेतृत्वमा रहेर मैले ती घाइतेका अनुहार, उनीहरूका परिवारको चिन्ता र स्वास्थ्यकर्मीहरूको निरन्तर खटाइलाई नजिकबाट महसुस गर्ने मौका पाँए। त्यस्ता घटनालाई मैले केवल एउटा समाचार वा तथ्यांकका रूपमा हेर्न सकिनँ। अनि सोंचे अस्पतालको ढोकामा उपचारका लागि आएका व्यक्तिलाई उसको विचार, परिचय वा ऊ कुन पक्षको थियो भन्ने आधारमा हेर्नु, व्यवहार देखाउनु हुँदैन। अस्पतालमा पुगेपछि ऊ सबैभन्दा पहिले एक बिरामी हो, बिरामीलाई उपचार चाहिन्छ र हामीले निभाउने धर्म भनेको उपचार हो भन्ने मान्यतालाई हामी आफ्नो कामको आधार मान्दछौँ। जे-जी आन्दोलन वा अन्य कुनै आन्दोलन, प्राकृतिक विपद् वा आकस्मिक दुर्घटना; स्वास्थ्य सहयोग आवश्यक परेको अवस्थामा नागरिकको साथमा उभिनु हाम्रो मानवीय जिम्मेवारी हो। हामीले विगतमा पनि यस्ता परिस्थितिमा उपचार तथा स्वास्थ्य सहयोग उपलब्ध गराउँदै आएका छौँ र भविष्यमा पनि सक्दो सहयोग गर्ने हाम्रो प्रतिबद्धता कायम छ।
मलाई विशेष रूपमा एउटा दृश्यले सधैँ छुन्छ आफ्नो परिवारको सदस्य घाइते भएर अस्पताल आउँदा परिवारका मानिसहरू आत्तिएका हुन्छन्। उनीहरूलाई त्यतिबेला ठूलो भाषण हैन; आश्वासन चाहिन्छ, उपचार सुरु भएको दृश्य र आफ्नो मान्छे सुरक्षित छ भन्ने विश्वास चाहिन्छ।
स्वास्थ्यकर्मीले उच्चारण गरेको एउटा सकारात्मक शब्दले पनि त्यो अवस्थामा परिवारलाई ठूलो राहत र साहस दिन सक्छ। स्वास्थ्य सेवा केवल औषधि, उपचार र प्रविधिको विषय मात्र नभएर विश्वास र मानवताको विषय पनि हो भन्ने मैले महसुस गरेको अर्को कुरा हो।
संकटको समयमा स्वास्थ्यकर्मीहरू आफैँ पनि कठिन परिस्थितिमा काम गर्नुपर्ने हुन्छन्, लामो समयसम्म निरन्तर सेवा दिनुपर्ने अवस्था आउँछ, आकस्मिक बिरामीको चाप बढ्छ, स्रोतसाधनको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। यस्तै अफ्ठ्यारो समयमा स्वास्थ्यकर्मीको वास्तविक सेवाभाव अझ स्पष्ट देखिन्छ। मैले हाम्रो टिममा बिरामी प्रतिको समर्पण धेरै पटक देखेको छु, र त्यसप्रति म गर्व गर्छु। हाम्रो समाजमा व्यक्ति पिच्छे फरक विचार, फरक धारणा र परिस्थितिलाई हेर्ने दृष्टिकोण पनि फरक हुन सक्छ तर मानव जीवनको मूल्यमा हाम्रो धारणा फरक हुनु हुँदैन। घाइते व्यक्तिलाई उपचार चाहिएको छ भने उसको उपचार नै पहिलो कुरा हुनुपर्छ।
कार्यकारी निर्देशकका रूपमा मेरो लागि अस्पतालको नेतृत्व गर्नु भनेको केवल सेवा सञ्चालन गर्नु मात्र नभई कठिन समयमा अस्पतालले समाजलाई कति भरोसा दिन सक्यो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। अस्पतालको सफलता केवल कति बिरामी उपचार भए वा कति आधुनिक उपकरण छन् भन्ने कुराले मात्र मापन हुँदैन। स्वास्थ्य सहयोग आवश्यक पर्ने नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। यही प्रतिबद्धताका साथ हामी निरन्तर सेवामा रहनेछौँ। आन्दोलन र परिस्थितिहरू परिवर्तन हुन सक्छन्, तर मानव जीवनको मूल्य कहिल्यै परिवर्तन हुनु हुँदैन, हाम्रो अस्पतालको पहिलो धर्म पनि मानवताको रक्षा गर्नु हो।






..jpeg)




..jpeg)


.png)





प्रतिकृया दिनुहोस