• १२ कार्तिक २०८३, बुधबार

क्यान्सरसँग डराउने होइन, समयमै पहिचान र उपचार गर्ने हो

क्यान्सरका बिरामीको संख्या विश्वभर निरन्तर बढिरहेको छ। अहिले विश्वमा हरेक वर्ष करिब दुई करोड मानिसमा क्यान्सर पहिचान हुने गरेकोमा आगामी १५ वर्षमा यो संख्या झन्डै चार करोड पुग्ने अनुमान गरिएको छ। तर क्यान्सर बढेसँगै यसको पहिचान र उपचारका क्षेत्रमा पनि नयाँ प्रविधि तथा उपचार पद्धति विकास भइरहेका छन्। त्यसैले क्यान्सरलाई केवल डरको विषयका रूपमा लिनुभन्दा समयमै पहिचान, उचित उपचार र रोकथाममा ध्यान दिन आवश्यक छ।

नेपालमा बढी देखिने क्यान्सर

नेपालमा क्यान्सरका प्रमुख जोखिममध्ये सुर्तीजन्य पदार्थको प्रयोग महत्वपूर्ण छ। पुरुषमा फोक्सो, पेट, टाउको तथा घाँटी र लिम्फोमा सम्बन्धी क्यान्सर बढी देखिन्छ। महिलामा भने स्तन, पाठेघरको मुख र फोक्सोको क्यान्सर प्रमुख छन्।

क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्ने भएकाले यसको लक्षण पनि क्यान्सरको प्रकार र प्रभावित अंगअनुसार फरक हुन्छ। सामान्यजस्तो लाग्ने लक्षण लामो समयसम्म रहिरहे त्यसलाई बेवास्ता गर्नु हुँदैन।

दुई–तीन हप्तासम्म लक्षण रहे जाँच गरौँ

निरन्तर बढ्दै गएको खोकी, खकारमा रगत, तौल घट्नु, छाती दुख्नु वा सास फेर्न गाह्रो हुनुजस्ता लक्षण देखिए चिकित्सकीय परामर्श लिनुपर्छ। त्यस्तै दिसामा रगत देखिनु, शरीरमा असामान्य गाँठागुँठी आउनु, अनपेक्षित तौल घट्नु, जन्डिस देखिनु वा महिनावारी सुकिसकेपछि रक्तस्राव हुनुजस्ता लक्षणमा पनि सचेत हुनुपर्छ।

यी सबै लक्षण क्यान्सरकै कारण हुन्छन् भन्ने होइन। तर कुनै असामान्य लक्षण दुई–तीन हप्ताभन्दा बढी रह्यो वा क्रमशः बढ्दै गयो भने क्यान्सरको सम्भावनासमेत हेरेर आवश्यक जाँच गराउनुपर्छ।

सुरुमै पत्ता लागे उपचारको सम्भावना बढी

क्यान्सरको उपचारमा रोग कुन अवस्थामा पहिचान भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। पहिलो र दोस्रो स्टेजमै क्यान्सर पत्ता लागेर उचित उपचार पाए धेरै प्रकारका क्यान्सर निको हुने सम्भावना उच्च हुन्छ। तेस्रो स्टेजमा पनि उपचारबाट रोग नियन्त्रण वा निको हुने सम्भावना रहन्छ। चौथो स्टेजमा पूर्ण रूपमा निको पार्न कठिन भए पनि आधुनिक उपचारले रोग नियन्त्रण गर्दै लामो समयसम्म गुणस्तरीय जीवन बिताउन सहयोग गरेको छ।

त्यसैले ‘क्यान्सर भयो भने जीवन सकियो’ भन्ने सोच उपयुक्त छैन। नेपालमै पनि उपचारपछि क्यान्सरलाई जितेर सामान्य जीवन बिताइरहेका धेरै मानिस छन्।

रोकथाम र स्क्रिनिङमा ध्यान

क्यान्सरबाट बच्न धुम्रपान तथा सुर्तीजन्य पदार्थ र मदिराको प्रयोगबाट टाढा रहने, स्वस्थ खानपान गर्ने, तौल उचित राख्ने र नियमित शारीरिक गतिविधि गर्ने बानी आवश्यक छ।

महिलामा पाठेघरको मुखको क्यान्सर हुनुअघिका परिवर्तन स्क्रिनिङबाट पहिचान गर्न सकिन्छ। त्यसैले उमेर र जोखिमअनुसार नियमित परीक्षण गराउनु महत्वपूर्ण छ। स्तन क्यान्सरको जोखिम भएका महिलाले चिकित्सकीय सल्लाहअनुसार आवश्यक परीक्षण, जस्तै मेमोग्राफी, गराउनुपर्छ।

क्यान्सरको संख्या बढिरहेको भए पनि यसको पहिचान र उपचारका प्रविधि पनि विकसित भइरहेका छन्। त्यसैले क्यान्सरलाई डर र निराशाको विषय मात्र नबनाऔँ। असामान्य लक्षणलाई बेवास्ता नगरौँ, समयमै परीक्षण गरौँ र आवश्यक उपचार सुरु गरौँ। समयमै पहिचान र उपचारले धेरै क्यान्सरलाई नियन्त्रण गर्न वा निको पार्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस