• ३ मङ्सिर २०८३, बिहीबार

स्वास्थ्य क्षेत्रपछि अटोमोबाइलमा ह्याम्स ग्रुप, पारस खड्का बने क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा ह्याम्स अस्पतालमार्फत परिचित ह्याम्स ग्रुपले आफ्नो लगानी अटोमोबाइल क्षेत्रमा विस्तार गरेको छ। ग्रुपको लगानीमा नेपाल भित्रिएको अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का नियुक्त भएका छन्।

क्यूजे मोटर्सको ब्रान्ड सार्वजनिक तथा ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीले खड्कालाई ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष भण्डारीले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन भित्र्याउने उद्देश्यले क्यूजे मोटर्ससँग सहकार्य गरिएको बताए। नेपाली उपभोक्तालाई प्रिमियम विशेषतायुक्त मोटरसाइकल प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको उनले उल्लेख गरे।

उनका अनुसार कम्पनीले नेपाली बजारमा केही मोटरसाइकल बिक्रीका लागि पठाइसकेको छ। प्रारम्भिक ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउँदै उनले अन्य प्रचलित ब्रान्डको तुलनामा प्रतिस्पर्धी मूल्यमा प्रिमियम मोटरसाइकल उपलब्ध गराउने रणनीति रहेको जानकारी दिए।

नवनियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले नेपाली निजी क्षेत्रको लगानी खेलकुदमा समेत विस्तार हुँदै जानु सकारात्मक भएको बताए। ह्याम्स ग्रुपले व्यक्तिगत प्रयासमा मात्र सीमित नभई संस्थागत रूपमा खेलकुदमा लगानी गरिरहेको उल्लेख गर्दै उनले यस्तो पहलले नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ह्याम्स ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग पनि साझेदारी गरेको छ। खड्काका अनुसार क्रिकेटमा निजी क्षेत्रको संस्थागत लगानी बढ्दै जाँदा खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यावसायिक उद्योगका रूपमा विकास गर्न मद्दत पुग्नेछ।

कार्यक्रममा क्यूजे मोटर्सका अन्तर्राष्ट्रिय बजारमा उपलब्ध उत्पादन तथा कम्पनीको उपस्थितिबारे पनि जानकारी गराइएको थियो। क्यूजे मोटर्सले आफ्नै ब्रान्डसँगै बेनेली ब्रान्डका मोटरसाइकलसमेत उत्पादन गर्दै आएको जानकारी दिइयो।

ह्याम्स ग्रुपको अटोमोबाइल व्यवसायको नेतृत्व अध्यक्ष आरएस भण्डारीका छोरा समीर भण्डारीले गर्नेछन्। उनले क्यूजे मोटर्सको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्। समीरको नेतृत्वमा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका मोटरसाइकल भित्र्याउने र बजार विस्तार गर्ने योजना अघि सारेको छ।

स्वास्थ्य क्षेत्रबाट व्यवसाय सुरु गरेको ह्याम्स ग्रुपले अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गर्नु आफ्नो व्यावसायिक विविधीकरणको नयाँ कदमका रूपमा लिएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस