अछामकी २० वर्षीया गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ।
अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरिएको हो। स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याइएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक अवस्थामा समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याई आमा र शिशुको जीवन रक्षा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो।
विशेषगरी जटिल प्रसूति अवस्थाका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पुर्याउन यस कार्यक्रमले सहयोग गर्दै आएको छ। स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका दुर्गम क्षेत्रका महिलाका लागि हवाई उद्धार सेवा जीवनरक्षाको महत्त्वपूर्ण माध्यम बन्दै गएको छ।



















प्रतिकृया दिनुहोस