• ३ मङ्सिर २०८३, बिहीबार

एन्टिबायोटिकको दुरुपयोग रोक्न विभागको आग्रह, आजदेखि विश्व सचेतना सप्ताह

काठमाडौं । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को अवसरमा औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ (One Health, One Action: Prevent AMR Now) रहेको छ।

विभागका अनुसार एन्टिबायोटिकलगायत प्रतिजैविक औषधिको जथाभावी तथा अत्यधिक प्रयोगले सूक्ष्मजीवमा औषधि प्रतिरोध क्षमता बढ्दै गएको छ। यसले सामान्य संक्रमणको उपचारसमेत चुनौतीपूर्ण बनाउँदै लगेको छ। यसको असर मानव स्वास्थ्यमा मात्र नभई पशुपन्छी, कृषि उत्पादन र खाद्य सुरक्षामा समेत परेको छ।

विभागले चिकित्सकको सल्लाहअनुसार तोकिएको मात्रा र अवधिसम्म मात्र एन्टिबायोटिक प्रयोग गर्न तथा आफूखुसी औषधि सेवन नगर्न आग्रह गरेको छ।

महानिर्देशक भरत भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न नियमन तथा निगरानीलाई प्रभावकारी बनाइएको उल्लेख छ। साथै, चिकित्सकको सिफारिसबिना यस्ता औषधि बिक्री नगर्न र ‘रिजर्भ’ समूहका एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्र बिक्री वितरण गर्न विभागले आग्रह गरेको छ।

विभागले सप्ताहका अवसरमा औषधि व्यवसायी, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा प्रदायक तथा सम्बन्धित संघ–संस्थालाई सचेतना अभियानमा सक्रिय सहभागी हुनसमेत आह्वान गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस