• १८ असोज २०८३, आइतबार

नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनमा चिकित्सक संघको ध्यानाकर्षण

काठमाडौं । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरूले उठाएका माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।

संघले प्रधानमन्त्रीलाई पत्र पठाउँदै एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकमाथि अनावश्यक मुद्दा लगाइएको, सार्वजनिक बिदाका दिनमा समेत बिदा नदिइएको, सरकारी आठौँ तहसरह पाउनुपर्ने निर्वाह भत्ता उपलब्ध नगराइएको तथा मानसिक दबाब दिई विनाकारण गयल र कारबाही गरिएको जनाएको छ।

कलेज प्रशासनसँग पटक–पटक छलफल गर्दा पनि चिकित्सकका माग सम्बोधन नभएको संघको भनाइ छ। प्रचलित कानुन तथा श्रम ऐनविपरीत चिकित्सकमाथि दबाब सिर्जना गरिएको भन्दै संघले आवासीय चिकित्सकलाई भयरहित वातावरणमा अध्ययन तथा सेवा गर्ने अवस्था बनाउन आग्रह गरेको छ।

संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित पत्रमा चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न कलेज प्रशासनलाई निर्देशन दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ। माग सम्बोधन नभए चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही अघि बढाउनसमेत संघले आग्रह गरेको छ।

आवासीय चिकित्सकहरू २०८३ भदौ ३१ गतेदेखि माग सम्बोधनको माग गर्दै आन्दोलनरत रहेको पत्रमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस