मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजा प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना आवश्यक रहेको बताएकी छन्।
प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा धारणा राख्दै मन्त्री मेहताले अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहे पनि मधेशमा हालसम्म यस्तो प्रतिष्ठान स्थापना हुन नसकेको बताइन्। उनले प्रादेशिक सन्तुलन कायम गर्न पनि प्रतिष्ठान आवश्यक रहेको उल्लेख गरिन्।
मन्त्री मेहताका अनुसार प्रतिष्ठान स्थापनाका लागि सरकारले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८०’ जारी गरी पूर्वाधार निर्माण तथा आवश्यक तयारीका काम अघि बढाइसकेको छ। समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेको थियो।
प्रतिष्ठान स्थापना भएपछि मधेशका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण बन्ने मन्त्री मेहताको भनाइ छ। उनले चिकित्सा शिक्षामा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्न पनि विधेयकले आधार तयार गर्ने बताइन्।
सरकारले भविष्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनमार्फत व्यवस्थित गर्ने नीति लिए पनि उक्त व्यवस्था कार्यान्वयन नभएसम्म छुट्टै ऐनमार्फत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने उनले बताइन्। चालु आर्थिक वर्षमा प्रतिष्ठानका लागि बजेटसमेत विनियोजन गरिएको जानकारी दिँदै उनले विधेयकलाई प्रभावकारी र जनमुखी बनाउन सांसदबाट प्राप्त सुझावलाई सरकारले सकारात्मक रूपमा लिने बताइन्।






..jpeg)












प्रतिकृया दिनुहोस