५० हजार बालबालिकाको मुख स्वास्थ्य सुधार्न एसएनएचपीई र बीएम फाउन्डेसनबीस सहकार्य हुने
काठमाडौं। बालबालिकाको मुख तथा दन्त स्वास्थ्य सुधार गर्ने उद्देश्यले ‘५० हजार स्माइल्स नेपाल’ अभियान सञ्चालन हुने भएको छ।
अभियानका लागि सोसाइटी अफ नेपालीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) र बीएम फाउन्डेसन नेपालबीच सहकार्यसम्बन्धी समझदारी भएको हो।
आज बीएम फाउन्डेसनमा आयोजित विशेष समारोहमा फाउन्डेसनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र एसएनएचपीईका उपाध्यक्ष डा सागर धितालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
अभियानमार्फत काठमाडौंसहित ग्रामीण क्षेत्रका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत बालबालिकामा मुख स्वास्थ्यसम्बन्धी सचेतना, परीक्षण तथा आवश्यक सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
कान्तिपुर डेन्टल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष तथा बीएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बालबालिकामा सानै उमेरदेखि मुख स्वास्थ्यसम्बन्धी ज्ञान र स्वस्थ बानीको विकास गराउने उद्देश्यले अभियान अघि बढाइएको बताए। डा श्रेष्ठका अनुसार अभियानमा स्वास्थ्य क्षेत्रका विद्यार्थी, इन्टर्न, पोस्टग्राजुएट रेजिडेन्ट तथा स्वयंसेवकलाई समेत सहभागी गराइनेछ।
स्वीजरल्याण्डमा रहेका एसएनएचपीईका अध्यक्ष डा. बिनयकुमार श्रेष्ठले अनलाइनबाट सहभागी भई मुख स्वास्थ्य समग्र स्वास्थ्यकै महत्वपूर्ण हिस्सा भएकाले बाल्यकालदेखि नै यसको सचेतना आवश्यक रहेको बताए। उनले संस्थाका तर्फबाट अभियानमा आर्थिक तथा प्राविधिक सहयोगका साथै युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मी र समुदायमार्फत जनचेतना विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

एसएनएचपीईका उपाध्यक्ष डा. सागर धितालले नेपालका ग्रामीण तथा विद्यालय तहमा मुख स्वास्थ्यसम्बन्धी जानकारी र सेवाको पहुँच अझै सीमित रहेको उल्लेख गर्दै अभियानलाई सहयोग गर्ने बताए।
अभियानमा नेपालमा रहेका स्वास्थ्यकर्मी तथा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र स्रोतलाई जोडेर बालबालिकाको मुख स्वास्थ्य सुधारमा काम गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा एसएनएचपीईका नेपाल सम्पर्क व्यक्ति दामोदर नेपालको समेत उपस्थिति थियो भने सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपका बोर्ड सदस्य युरोपियन जर्नल अफ नेपालीज हेल्थकेयर प्रोफेसनल्स (ईजेएनएचपी)का प्रधान सम्पादक एसोसिएट प्रोफेसर डा. कौशल किशोर तिवारी ईटालीबाट अनलाईनमा सहभागी थिए।






..jpeg)












प्रतिकृया दिनुहोस