स्तन क्यान्सरको प्रारम्भिक पहिचानमा एआई प्रविधि ‘थर्मालिटिक्स’
काठमाडौं। अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइँदै गर्दा नेपालमा स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित ‘थर्मालिटिक्स’ प्रविधिबारे सचेतना अभियान सुरु गरिएको छ।
नेपालमा ईली ट्रेड प्रालिले भित्र्याएको थर्मालिटिक्सले स्तनको तापक्रम तथा रक्तसञ्चारसँग सम्बन्धित ढाँचामा देखिने असामान्य परिवर्तनलाई एआईमार्फत विश्लेषण गरी जोखिम पहिचान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। परीक्षणका क्रममा विकिरण प्रयोग नहुने, शरीरलाई नछोईकन र दुखाइबिना परीक्षण गर्न सकिने कम्पनीका मेनेजिङ डाइरेक्टर मधु पौडेलले बताए।
उच्च रिजोलुसनको थर्मल सेन्सिङ उपकरणले स्तन क्षेत्रमा देखिने करिब चार लाख तापक्रम बिन्दुको विश्लेषण गर्ने र एआईले त्यसबाट असामान्य तापक्रम तथा रक्तसञ्चारका ढाँचा पहिचान गरी जोखिम स्कोरसहितको रिपोर्ट तयार गर्ने कम्पनीको भनाइ छ। आवश्यकताअनुसार उक्त रिपोर्टलाई विशेषज्ञ रेडियोलोजिस्टले समीक्षा गर्न सक्ने बताइएको छ।
कम्पनीका अनुसार विभिन्न क्लिनिकल अध्ययनमा थर्मालिटिक्सको संवेदनशीलता र विशिष्टता प्रचलित स्क्रिनिङ विधिसँग तुलनायोग्य देखिएको छ। विशेषगरी युवा महिला तथा स्तनको तन्तु बाक्लो भएका महिलामा २-डी म्यामोग्राफीको तुलनामा यसको संवेदनशीलता राम्रो देखिएको कम्पनीको दाबी छ।
थर्मालिटिक्स पोर्टेबल भएकाले एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने र छोटो समयमा ठूलो संख्यामा महिलाको स्क्रिनिङ गर्न सकिने कम्पनीले जनाएको छ। युरोपियन युनियन (EU) तथा भारतीय CDSCO बाट स्वीकृति पाएको र उपकरणले अमेरिकी खाद्य तथा औषधि प्रशासन (USFDA) बाट पनि स्वीकृति पाएको कम्पनीको दाबी छ।
विकिरण प्रयोग नहुने भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलासहित विभिन्न समूहका महिलामा परीक्षण गर्न सकिने कम्पनीले जनाएको छ। उच्च दक्ष जनशक्ति अनिवार्य नपर्ने दाबी गर्दै कम्पनीले नेपालका दुर्गमसहित विभिन्न स्थानमा उपकरण पुर्याएर सामूहिक स्क्रिनिङ सञ्चालन गर्न सकिने जनाएको छ।
थर्मालिटिक्सबाट उच्च जोखिम वा शंकास्पद नतिजा आएमा त्यसलाई अन्तिम निदानका रूपमा नलिई चिकित्सकीय मूल्यांकन तथा आवश्यकताअनुसार म्यामोग्राफी, अल्ट्रासाउन्ड वा एमआरआईजस्ता थप परीक्षण गर्नुपर्ने हुन्छ।
सरकारको स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम सबै क्षेत्रमा प्रभावकारी रूपमा विस्तार हुन नसकेको अवस्थामा पोर्टेबल प्रविधिमार्फत ठूलो संख्यामा महिलासम्म प्रारम्भिक स्क्रिनिङ सेवा पुर्याउन सकिने कम्पनीको भनाइ छ। अक्टोबरको स्तन क्यान्सर सचेतना अभियानले पनि नियमित स्क्रिनिङ, समयमै निदान र उपचारलाई प्राथमिकता दिँदै आएको छ।






..jpeg)












प्रतिकृया दिनुहोस