• १८ असोज २०८३, आइतबार

कोशीमा स्क्रब टाइफसका एक हजार ६८ संक्रमित

हिले । पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशमा सन् २०२६ जनवरीयता एक हजार ६८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी ५१३ जनामा संक्रमण देखिएको छ। सुनसरीमा ११८, भोजपुरमा ११०, ओखलढुङ्गामा ९६, धनकुटा र खोटाङमा ४३–४३ तथा झापामा ३७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. वैभव मल्लिकका अनुसार स्क्रब टाइफस संक्रमित सूक्ष्म किराको टोकाइबाट सर्छ। यसमा सुरुमा ज्वरो आउने, शरीर तथा हातखुट्टा दुख्ने, आलस्य हुने र छालामा डाबर देखिने जस्ता लक्षण देखिन सक्छन्। समयमै उपचार नभए मिर्गौला, फोक्सो र मुटुमा असर पर्नुका साथै श्वासप्रश्वासमा समस्या देखिन सक्ने उनले बताए।

वर्षायाम र गर्मीमा रोग सार्ने किरा बढी सक्रिय हुने भएकाले यस समयमा संक्रमणको जोखिम बढ्ने डा. मल्लिकको भनाइ छ।

संक्रमण नियन्त्रणका लागि कोशीका १४ वटै जिल्लामा सतर्कता बढाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। परीक्षणका लागि आवश्यक किट उपलब्ध गराउनुका साथै किट नभएका जिल्लामा खरिदका लागि रकमसमेत छुट्याइएको निर्देशनालयका प्रमुख सागर प्रसाईंले बताए। औषधि, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस