• १९ असोज २०८३, सोमबार

दन्त चोट उपचारमा सहकार्य गर्न नेपाल–भारतका दन्त चिकित्सकबीच समझदारी

काठमाडौं । नेपाल डेन्टल एसोसिएसन (एनडीए) र इन्डियन सोसाइटी अफ डेन्टल ट्रमाटोलोजी (आइएसडीटी) बीच दन्त चोटसम्बन्धी शिक्षा, अनुसन्धान, तालिम तथा जनचेतना अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा नेपाल डेन्टल एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारी र कोषाध्यक्ष डा. लोकेश बर्मा तथा आइएसडीटीका संस्थापक अध्यक्ष प्रा डा. अजय लोगानी र महासचिव डा. सिद्धार्थ शर्माले हस्ताक्षर गरेका छन्।

समझदारीसँगै कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ‘एन्टेरियर टुथ ट्रमा : कम्प्रिहेन्सिभ म्यानेजमेन्ट इन डेली डेन्टल प्राक्टिस’ विषयक दन्त चोट सम्मेलन तथा स्प्लिन्टिङ सामग्री र प्रविधिसम्बन्धी व्यावहारिक कार्यशाला आयोजना गरिएको छ।

सम्मेलनमा दन्त चोटको निदान, उपचार, दाँत संरक्षण, अवल्सन व्यवस्थापन तथा बालबालिकाको दन्त उपचारलगायत विषयमा नेपाल र भारतका विशेषज्ञले प्रस्तुति दिएका छन्।

यसैबीच, सम्मेलनबाट उठ्ने सम्पूर्ण बचत रकम रसुवा बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने भएको छ। नेपाल डेन्टल एसोसिएसनका प्रवक्ता डा. भुमेश काफ्लेका अनुसार वैज्ञानिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थाले प्राथमिकतामा राखेको छ।

एसोसिएसनका अनुसार नेपाल–भारतबीचको समझदारीले दन्त चोट व्यवस्थापनमा ज्ञान, सीप, अनुसन्धान र निरन्तर व्यावसायिक शिक्षामा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस