नेपालमा पहिलोपटक माइक्रोवेभ एब्लेसन प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला
काठमाडौं। गर्भाशयसम्बन्धी रोगको उपचारमा प्रयोग हुने माइक्रोवेभ एब्लेसन प्रविधिबारे नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला काठमाडौंस्थित ब्लुक्रस अस्पतालमा सम्पन्न भएको छ।
आधुनिक माइक्रोवेभ एब्लेसन प्रविधिको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ तथा दूरबिन प्रविधिमार्फत स्त्रीरोग उपचार तथा बाँझोपन विशेषज्ञ डा. रङ्गिना लाइकाङबामको सहभागितामा कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा नेपाल तथा विदेशका गरी २० जना चिकित्सक सहभागी भएका थिए। सहभागीमध्ये १० जना नेपाली चिकित्सक थिए भने १० जना चिकित्सक बंगलादेश, भारत, संयुक्त अरब इमिरेट्स, दुबई तथा म्यानमारलगायतका देशबाट सहभागी भएका थिए।

कार्यशालाको मुख्य उद्देश्य गर्भाशयसम्बन्धी विभिन्न रोगको उपचारमा प्रयोग हुने माइक्रोवेभ एब्लेसन प्रविधिबारे नवीनतम ज्ञान, उपचार विधि तथा व्यावहारिक सीप आदान–प्रदान गर्नु रहेको अस्पतालले जनाएको छ। कार्यशालामा प्रविधिको सिद्धान्त र प्रयोग, बिरामी छनोट, उपचारका विभिन्न चरण, उपकरणको प्रयोग, उपचारका क्रममा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिक पक्षबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।
गर्भाशयसम्बन्धी विभिन्न रोगले महिलाको प्रजनन स्वास्थ्य तथा समग्र स्वास्थ्यमा असर पार्न सक्ने भएकाले समयमै चिकित्सकीय परीक्षण र आवश्यक उपचार महत्वपूर्ण हुने चिकित्सकहरूले बताएका छन्। बिरामीको अवस्था, रोगको प्रकृति तथा चिकित्सकीय मूल्याङ्कनका आधारमा उपयुक्त उपचार विधि छनोट गरिने उनीहरूको भनाइ छ।
नेपालमा केही विशेष तथा उन्नत उपचारका लागि बिरामी विदेश जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै देशमै आधुनिक उपचार प्रविधि, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको विकास आवश्यक रहेको अस्पतालले जनाएको छ।
अन्तर्राष्ट्रियस्तरका यस्ता चिकित्सकीय कार्यशालाले नेपाली चिकित्सकलाई विदेशी विशेषज्ञबाट प्रत्यक्ष ज्ञान तथा सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै आधुनिक उपचार प्रविधिको ज्ञान नेपालमा भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यशालाले गर्भाशयसम्बन्धी रोगको उपचारमा माइक्रोवेभ एब्लेसन प्रविधिबारे चिकित्सकीय ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै नेपाली चिकित्सकको क्षमता विकास तथा अन्तर्राष्ट्रिय चिकित्सकीय सहकार्यलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास गरिएको अस्पतालले जनाएको छ।
कार्यशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रा. डा. सियाओमिङ गोङ, डा. रङ्गिना लाइकाङबाम, बंगलादेश, भारत, संयुक्त अरब इमिरेट्स, दुबई तथा म्यानमारबाट सहभागी चिकित्सक, नेपाली चिकित्सक, स्वास्थ्यकर्मी, आयोजक टोली तथा सम्पूर्ण सहयोगी पक्षलाई ब्लु क्रस अस्पतालले धन्यवाद तथा आभार व्यक्त गरेको छ।






..jpeg)












प्रतिकृया दिनुहोस