• १८ असोज २०८३, आइतबार

‘डोन्ट मिस अ बिट’ नारासहित विश्व मुटु दिवस मनाइयो

ललितपुर। ‘डोन्ट मिस अ बिट’ नारासहित हार्ट टु हार्ट सेन्टरले विश्व मुटु दिवस तथा सम्मान समारोह आयोजना गरेको छ। सेन्टरको २० वर्षे सेवा यात्राको अवसरमा शनिबार आयोजित कार्यक्रममा नसर्ने रोगको बढ्दो जोखिम, मुटुरोगको रोकथाम र स्वस्थ जीवनशैलीका विषयमा चर्चा गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपालमा नसर्ने रोग तीव्र रूपमा बढिरहेको भन्दै स्क्रिनिङ, प्रारम्भिक पहिचान र जनचेतनामूलक कार्यक्रम विस्तार गरिने बताए। प्रदेश सरकारले केन्द्रीय कार्यक्रमसँगै यस्ता गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ थियो।

पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नसर्ने रोग नियन्त्रणका लागि राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्वस्थ जीवनका लागि नियमित व्यायाम र तौल नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए। उनका अनुसार सक्रिय जीवनशैलीले उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगको जोखिम घटाउन सहयोग गर्छ।

सेन्टरका महासचिव केशव पुरीले आर्थिक स्रोतको अभावका कारण चाहेजति सामाजिक कार्यक्रम विस्तार गर्न नसकिएको बताए। अध्यक्ष रोशन कृष्ण न्याछ्योंले दुई दशकदेखि संस्थाले मुटुरोगसम्बन्धी जनचेतना र सामाजिक सेवामा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए।

सेन्टरका उपाध्यक्ष डा. शंकर काफ्लेले गैरनाफामूलक संस्थाले समुदायस्तरमा स्वास्थ्य जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सेन्टरका संस्थापक तथा लामो समय अध्यक्ष रहेका स्वर्गीय विपिन राईको दुई दशकको योगदानलाई संस्थाका सदस्य र समाजका लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताए।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. देवेन्द्र खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीनमान सिंह प्रधान, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. आशिष गोविन्द अमात्यलगायत स्वास्थ्य क्षेत्रका व्यक्तित्व तथा स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो।

सो अवसरमा हार्ट टु हार्ट सेन्टरको २० वर्षे यात्रामा योगदान पुर्‍याउने संस्थासँग आबद्ध विशिष्ट व्यक्तित्व तथा सल्लाहकारहरूलाई सम्मान गरिएको थियो। सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउने, नियमित व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने र मुटुरोगको समयमै परीक्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस