नेपाल क्यान्सर कन्फ्रेन्स–२०२६ सुरु
काठमाडौं। नेपाल क्यान्सर अस्पतालको आयोजनामा नेपाल क्यान्सर कन्फ्रेन्स (एनसीसी–२०२६) सुरु भएको छ। काठमाडौंको होटल र्याडिसनमा शनिबारसम्म चल्ने दुईदिने सम्मेलनको मुख्य विषय ‘ब्रेकिङ ब्यरियर्स, बिल्डिङ होप : अ कलेक्टिभ फाइट अगेन्स्ट क्यान्सर’ रहेको छ।
सम्मेलनमा विशेषगरी छाती तथा स्तन क्यान्सरको पहिचान, उपचार, बहुविध चिकित्सकीय व्यवस्थापन र उपचारपछिको निरन्तर हेरचाहका विषयमा छलफल भइरहेको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञले मुख्य प्रस्तुति, सीएमई तथा बहुविध विशेषज्ञबीचका छलफल सञ्चालन गर्नेछन्। नेपालमा भएका अनुसन्धानका मौलिक शोधपत्र तथा पोस्टर प्रस्तुति पनि सम्मेलनमा समेटिएका छन्।
सम्मेलनको उद्घाटन सत्रमा सांसद डा. लेखजंग थापाले क्यान्सरलगायत नसर्ने रोगको उपचार र नियन्त्रणमा सरकार एक्लैले काम गर्न नसक्ने बताए। उनले सरकारी र निजी क्षेत्रसहित विभिन्न क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय तथा आवश्यक कानुनी सुधारका विषयमा सरकारसँग छलफल गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे।

सम्मेलनका अध्यक्ष डा. सुदीप श्रेष्ठका अनुसार सम्मेलनमा क्यान्सर उपचारमा विश्वस्तरीय अभ्यासलाई नेपालको स्रोत–साधनअनुकूल बनाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुनेछ। सम्मेलनमा क्यान्सरबाट निको भएका व्यक्तिका अनुभवलाई समेट्दै छुट्टै ‘क्यान्सर सर्वाइभरसिप’ सत्रसमेत राखिएको छ।
क्यान्सर उपचारमा औषधिको उपलब्धता, पहुँच र मूल्यलाई सम्मेलनले प्रमुख विषयका रूपमा उठाएको छ। शनिबार ‘ड्रग सर्टेज टु क्यान्सर मेडिसिन सेक्युरिटी : अ नेसनल एक्सन एजेन्डा’ विषयमा राष्ट्रिय गोष्ठी आयोजना हुँदैछ। गोष्ठीमा सांसद, औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, अस्पताल व्यवस्थापक, औषधि उत्पादक तथा आयातकर्ता, वितरक, क्यान्सर रोग विशेषज्ञ र क्यान्सरबाट निको भएका व्यक्तिका प्रतिनिधि सहभागी हुनेछन्। गोष्ठीबाट औषधिको उपलब्धता, पहुँच र किफायतीपन सुधारका लागि सरकारलाई ठोस सुझाव दिने आयोजकको तयारी छ।
आयोजक अध्यक्ष डा. बृजेशराज घिमिरेले क्यान्सर उपचार चिकित्सकमा मात्र सीमित नभई नर्स, पारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीको समेत सामूहिक प्रयासमा निर्भर हुने बताए। सम्मेलनमा नर्सिङसम्बन्धी छुट्टै सत्र तथा अनुसन्धान प्रस्तुतिका लागि अवसर राखिएको छ।
युवा चिकित्सक, नर्स तथा स्वास्थ्य अनुसन्धानकर्तालाई अनुसन्धानमा प्रोत्साहन गर्न उत्कृष्ट शोधपत्रका लागि एक लाख रुपैयाँ पुरस्कारको दिइएको छ। सम्मेलनमा चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्य सेवाका अनुसन्धानकर्ताका मौलिक शोधपत्र र पोस्टर प्रस्तुति राखिएको छ।
सम्मेलनमा क्यान्सर उपचार क्षेत्रमा योगदान पुर्याएका विभिन्न चिकित्सक तथा विज्ञलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ। साथै भारतको टाटा मेमोरियल अस्पतालअन्तर्गत होमी भाभा क्यान्सर सेन्टरका निर्देशक डा. कुबा कुमार प्रसादले क्यान्सर उपचारमा लागत प्रभावकारिताको महत्त्वबारे विशेष प्रस्तुति दिएका छन्।
कार्यक्रममा अर्गनाईजिङ सेक्रेटरी डा अमित कोइराला, कार्यक्रम निर्देशक डा गिशुफ निख प्रसिको र डा हरी ढाकालले समेत कार्यक्रममा सम्बोधन गरेका छन्।






..jpeg)












प्रतिकृया दिनुहोस