सांसद अन्सारीको आरोपप्रति नेशनल मेडिकल कलेजको ध्यानाकर्षण
काठमाडौं। प्रतिनिधि सभा बैठकमा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा व्यक्त गरेका आरोपप्रति कलेज प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।
कलेजले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफू सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको हो। कलेजका अनुसार संस्थामाथि चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायबाट नियमित अनुगमन तथा नियामकीय प्रक्रिया हुँदै आएको छ।
सांसद अन्सारीले उठाएका आरोप सम्बन्धमा हालसम्म कुनै नियामक वा सरकारी निकायबाट आधिकारिक रूपमा आरोप पुष्टि भएको निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ। यद्यपि, तथ्यमा आधारित निष्पक्ष र पारदर्शी परीक्षणका लागि कलेज तयार रहेको तथा सम्बन्धित निकायलाई आवश्यक अभिलेख र विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
कलेजले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेज र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने जनाएको छ। अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने कलेजको भनाइ छ।
करिब २५ वर्षदेखि सञ्चालनमा रहेको कलेजले चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।






..jpeg)












प्रतिकृया दिनुहोस