• १० मङ्सिर २०८३, बिहीबार

नेपालमा विविध कार्यक्रम गरी मनाइयो विश्व अकुपञ्चर दिवस

काठमाडौं। विश्व अकुपञ्चर दिवसको अवसरमा नेपालमा सामुदायिक स्वास्थ्य शिविर, अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी मनाइएको छ।

चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालको आयोजनामा विभिन्न संघसंस्थाको सहकार्यमा दुई चरणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अकुपञ्चर तथा परम्परागत चिनियाँ चिकित्सा पद्धतिको महत्व, नेपालमा यसको विकास र नेपाल–चीनबीच चिकित्सकीय सहकार्यका सम्भावनाबारे चर्चा गरिएको थियो।

दिवसको पहिलो कार्यक्रम भक्तपुरको राधेराधेमा सामुदायिक स्वास्थ्य शिविर आयोजना गरी सम्पन्न भएको थियो। डिभाइन युथ क्लब अफ नेपालको सहकार्यमा आयोजित शिविरमा १५० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका थिए। शिविरमा अकुपञ्चर, कपिङ थेरापी, मोक्सिबुसनलगायतका उपचार सेवा प्रदान गर्नुका साथै स्वास्थ्य सचेतना तथा परामर्शसमेत दिइएको थियो।

त्यसैगरी, काठमाडौंमा चिकित्सक, प्राध्यापक, चिनियाँ प्रतिनिधि तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालका अध्यक्ष डा. सुरज कर्माचार्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, वक्ता, चिकित्सक, सहभागी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालका निवर्तमान अध्यक्ष डा. झुलाराम अधिकारीले लामो इतिहास बोकेको अकुपञ्चर उपचार पद्धति नेपालमा विस्तारै विकास हुँदै गएको बताए।

चाइना कल्चरल सेन्टर इन नेपालका निर्देशक लिउ झानपिङले विशेषगरी दीर्घरोगको व्यवस्थापनमा अकुपञ्चरको सम्भावना र भविष्यबारे चर्चा गरे। चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालको सहकार्यमा पहिलोपटक विश्व अकुपञ्चर दिवस मनाउन पाउँदा खुसी व्यक्त गर्दै उनले अकुपञ्चर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध तथा चिकित्सकीय सहकार्यलाई थप मजबुत बनाउने माध्यम बन्न सक्ने बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

काठमाडौं विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. ली श्वाङछेङले विशेषगरी दुखाइसम्बन्धी समस्याको उपचारमा अकुपञ्चरको महत्वबारे चर्चा गरे।

वीर अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. अविनाश चन्द्रले विभिन्न स्नायुजन्य रोगको उपचारमा अकुपञ्चरको प्रयोग र यसका सम्भावित फाइदाबारे धारणा राखे। उनले प्रत्येक बिरामीको अवस्था र आवश्यकताअनुसार उपचार गर्नुपर्ने भन्दै उपचारअघि व्यक्तिगत मूल्याङ्कन आवश्यक रहेको बताए।

त्यस्तै, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. मनीष विक्रम शाहले हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्याको उपचारमा अकुपञ्चरको प्रयोगबारे आफ्नो चिकित्सकीय अनुभव प्रस्तुत गरे। अन्य उपचारबाट अपेक्षित लाभ नपाएका बिरामीलाई अकुपञ्चरका लागि सिफारिस गर्ने गरिएको र उपचारपछि प्राप्त सकारात्मक नतिजाबाट बिरामी सन्तुष्ट हुने गरेको उनले बताए।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. शंकर गौतमले नेपालको स्वास्थ्य सेवामा अकुपञ्चरको महत्वबारे प्रकाश पार्दै नेपालमा अकुपञ्चर तथा परम्परागत चिनियाँ चिकित्सा पद्धतिको विकास र विस्तारका लागि संघले आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीले नेपालमा परम्परागत चिनियाँ चिकित्सा पद्धतिको विकास र प्रवर्द्धनका लागि शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा तालिम र अनुसन्धान गरी तीनवटा पक्षमा विशेष ध्यान दिनुपर्ने बताए। यसका लागि नेपालस्थित चाइना कल्चरल सेन्टरको निरन्तर सहयोग र सहकार्य अपेक्षा गरिएको उनले उल्लेख गरे।

नेपालमा कार्यरत १७औँ चिनियाँ मेडिकल टोलीका डा. जिया सोङताओले भरतपुर क्यान्सर अस्पताल तथा काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा प्रदान गरिँदै आएको अकुपञ्चर सेवाबारे जानकारी गराए।

कार्यक्रममा डा. आनन्द केसी तथा अकुपञ्चर, मोक्सिबुसन तथा अकुप्रेसर एसोसिएसन अफ नेपालका अध्यक्ष सुवास ढकाल, समाजकी उपाध्यक्ष डा जया सत्याललगायतले पनि आफ्ना धारणा राखेका थिए।

विश्व अकुपञ्चर दिवसका अवसरमा आयोजित कार्यक्रमले नेपालमा अकुपञ्चरबारे जनचेतना अभिवृद्धि, चिकित्सकबीच अनुभव आदानप्रदान, व्यावसायिक सहकार्य तथा अनुसन्धानको आवश्यकतालाई उजागर गरेको छ। सहभागीहरूले शिक्षा, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान र स्वास्थ्य सेवामा अकुपञ्चरको समुचित समायोजनमार्फत नेपालको स्वास्थ्य प्रणालीमा यसको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, नेपाल र चीनबीच परम्परागत चिकित्सा, चिकित्सकीय अनुभव, अनुसन्धान तथा जनशक्ति विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने सम्भावनासमेत औँल्याइएको थियो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस