काठमाडौं महानगरपालिकाले अटिजम स्कूल भवन निर्माण सुरु गर्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम भएका बालबालिकाका लागि स्कूल तथा अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार अटिजम भएका बालबालिका, अभिभावक तथा जनप्रतिनिधिको उपस्थितिमा भवनको शिलान्यास गरेकी हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गर्ने महानगरपालिकाको सपना र अभिभावकको अपेक्षा पूरा हुने चरणमा पुगेको बताइन्। उनले भवन निर्माणसँगै तालिम, अध्ययन, अनुसन्धान र अभिभावकलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।
वडा नं. २९ का वडाध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाका अभिभावकको पीडालाई सम्बोधन गर्न विद्यालय निर्माण थालिएको बताए। उनले यसलाई वडाको गौरवको योजनाका रूपमा उल्लेख गर्दै अन्य स्थानीय तहलाई समेत यस्ता विद्यालय निर्माण गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने पाँचतले भवन भूमिगत तलासहित १८ हजार ५०० वर्गफिट क्षेत्रफलको हुनेछ। भवनमा तालिम तथा प्रशिक्षण कक्ष, प्रशासन र अनुसन्धान कक्ष, खुला खेल्ने स्थान, लिफ्ट तथा पहुँचयुक्त शौचालय निर्माण गरिनेछ।
भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको छ। निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको र २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
भवन निर्माणले अटिजम भएका बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोग पुर्याउने महानगरपालिकाको अपेक्षा छ। कार्यक्रममा सहभागी अभिभावक तथा अटिजमको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूले महानगरपालिकाको पहलप्रति खुशी व्यक्त गरेका थिए।








..jpeg)







..jpeg)



प्रतिकृया दिनुहोस